जनकपुरधाममा वकिल र पत्रकारबीचको झडपमा महासचिव क्रान्ति घाइते

जनकपुरधाम, २७ साउन । नेपाल बार एसोसिएसनमा आबद्ध वकिलसँगको झडपमा कुटपिटबाट नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पदाधिकारी सहित चार जना जना घाइते भएका छन् ।

मङ्लवार दिउँसो भएको जग्गाको विषयमा भएको विवादमा महासंघका प्रदेश महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ घाइते भएका छन् । उनीसँगै अध्यक्ष श्याम बन्जारा, पत्रकार दिवाकर राय र अनिलकुमार निरालालाई सामान्य चोटपटक लागेको छ । महासचिव क्रान्तिको पैतालाको हड्डी भाँचिएको छ । पत्रकार महासंघले गुठी संस्थानबाट लिजमा लिएको जग्गामा तारबार लगाउने क्रममा वकिलहरुको एक समूहबीच झडप भएको थियो ।

पत्रकार महासंघको प्रदेश समितिले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित चार कट्ठा जग्गा गुठी संस्थानबाट २० वर्षका लागि लिजमा लिएको हो । सो जग्गामा महासंघको भवन निर्माणको तयारी भइरहेको छ । उता वकिलहरुले उक्त स्थान आफ्नो पार्किङ क्षेत्र भएको दाबी गर्दै आएका छन् ।

गत साउन १९ गते गुठी संस्थानसँग ४ कट्ठा जग्गाको सम्झौता भइसकेको हो । यसअघि जेठ ७ गते गोरखापत्रमा तीनवटा जग्गाका लागि सूचना प्रकाशित भएको थियो । विभिन्न संघ–संस्थाले प्रस्ताव पेश गरेपछि प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्याङ्कनमा महासंघको प्रस्ताव स्वीकृत भएको थियो ।

संस्थानले साउन २ गते गोरखापत्रमार्फत महासंघलाई जग्गा पाएको जानकारी सार्वजनिक गरेको थियो । त्यसपछि साउन ९ गते सम्झौताका लागि पत्र पठाएको र साउन १९ गते दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको महासचिव क्रान्तिले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस