सरदार दम्पती मृत्युको घटनामा अनुसन्धानका लागि दुई जना पक्राउ

राजविराज, १ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिप्रामा धान खेतमा विद्युतीय धराप थाप्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले आइतवार पक्राउ गरेको छ ।

विद्युतीय धराप थाप्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय दुर्गानन्द चौधरी र महेन्द्र चौधरीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । जङ्गली जनावरबाट धान खेती जोगाउन विद्युतीय धराप थापिएको जनाइएको छ ।

सोही धरापमा करेन्ट लागेर स्थानीय ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदारको शनिवार राती करेन्ट लागेर मृत्यु भएको थियो । राती करिब १०ः३० बजेको समयमा खेतबाट घर फर्कने क्रममा सरदार दम्पतीलाई तारमा छुन गई करेन्ट लागेको थियो । दुवै जनाका तत्कालै घटनास्थलमै करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी धरमपुर र इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोली घटनाबारे अनुसन्धान अगाडि बढाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस