राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले जेनजी आन्दोलनको क्रममा भएको क्षति पुनर्निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त वीर शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । विज्ञप्तिमा आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त बैठकले जेनजी आन्दोलनको क्रममा भएको क्षतिपूर्ति पुनर्निर्माणमा सहयोग गर्ने निर्णय गरेको हो। सो बैठकले पुनर्निर्माणका लागि ५ लाख ५१ हजार रुपैयाँ (५,५१,०००) राष्ट्रिय पुनर्निर्माण कोषमा प्रदान गर्ने निर्णय गरेको अध्यक्ष विधान चौधरीले जानकारी दिएका छन्।
विज्ञप्तिमा पारदर्शिता, सुशासन र जनतामुखी सेवा प्रवाहमा गाउँपालिका अटल रहेको जनाइएको छ। साथै पुनर्निर्माण तथा विकासको यात्रामा सक्रिय सहभागिता जनाउँदै नागरिकलाई असुविधा नहुने गरी दायित्व निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।