जनमत पार्टीद्वारा मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण

काठमाडौँ । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टीको निर्णय अवहेलना गरेको भन्दै तीन दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको छ।

पार्टीका केन्द्रीय उपाध्यक्ष तथा अनुशासन समितिका संयोजक ई. नरेन्द्र प्रसाद चौधरीले बिहीबार पठाएको पत्रमा मुख्यमन्त्री सिंहले पार्टी संसदीय दलको निर्णय विपरीत गतिविधि गरेको आरोप लगाइएको छ।

जनमत पार्टी मधेस प्रदेश संसदीय दलले सरकारमाथि विश्वास नरहेको भनी सरकारबाट बाहिरिने निर्णय गर्दै मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्देशन दिएको थियो। तर, सिंहले निर्देशन पालना नगरी उल्टै अन्य दलसँग मिलेर पार्टीको हितविपरीत कदम चालेको भन्दै उनको गतिविधिप्रति प्रश्न उठाइएको छ।

पत्रमा भनिएको छ, “पार्टी संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य र साधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनुपर्ने हो, तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु हुन अनुरोध छ।”

जेनजी आन्दोलन चर्किएको बेला सिंहले पार्टी अध्यक्ष डा. सिके राउतको निर्देशनमा सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। तर आन्दोलन साम्य भएपछि उनले सो राजीनामा फिर्ता लिँदै पदमा अडिग रहेका थिए। संसदीय दलको निर्देशन बेवास्ता गरेपछि जनमत पार्टीले सिंहविरुद्ध कारबाही प्रक्रिया अघि बढाउँदै स्पष्टीकरण सोधेको जनाइएकाे छ ।

Author:



क्याटोगरी छान्‍नुहोस