असोज ३ कालो दिन किन ?

वीरेन्द्र ठाकुर

 

दाजुभाइ तथा दिदीबहिनीहरू,
आज मुलुक संविधान दिवस भनिने दिन मनाइरहेको छ।
तर म र मेरा थुप्रै दाजुभाइ दिदीबहिनीहरू आजको दिनलाई ‘कालो दिवस’ को रूपमा मनाइरहेका छौं। किन?
किनभने जुन संविधान २०७२ मा जारी गरियो, त्यो संविधानले हामीलाई समेटेन, हाम्रो आवाज नसुन्यो।
हामी त्यस्तो संविधान चाहन्थ्यौं जुन सबैको हक, पहिचान र सम्मानका आधारमा बनोस्।
तर त्यो संविधान घोषणा हतारोमा गरियो—बलिदानीहरू कुल्चेर, आवाजहरू दबाएर।
म सम्झन्छु !
मधेस आन्दोलनको तातो सडकमा हाम्रो रगत बगिरहेको थियो।
थरुहटमा, जनकपुरमा, वीरगञ्जमा, कैलालीमा—कयौं सपनाहरू गोली खाएर ढलेका थिए।
हामी विभेदविरुद्ध लडिरहेका थियौं।
हामी संविधानभित्र समेटिन खोजिरहेका थियौं।
तर त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले, सत्ता लिने हतारोमा, आन्दोलनको चित्कार नसुनीकन, आन्दोलनको रगतमाथि टेकेर संविधान जारी गरे।
त्यो संविधान, ईश्वरहरूलाई कुल्चेर लेखिएको दस्तावेज जस्तो लाग्यो।
आज पनि के भइरहेको छ?
त्यही संविधानलाई आलोचना नगर्नुहोस् भन्ने आदेश।
त्यही संविधानको नाममा उत्सव मनाउन बाध्य बनाउने चेष्टा।
अनि प्रश्न उठाउनेहरूलाई ‘राष्ट्रघाती’ को ट्याग।
तर म यहाँ भन्न चाहन्छु—
जुन संविधान बनाउँदा हामीलाई नसुनियो,
जुन संविधानले हाम्रो पहिचान मेटायो,
जुन संविधानले हाम्रो नागरिकता खोस्यो,
जुन संविधानले हामीलाई दोस्रो दर्जाका नागरिक बनायो
त्यो संविधान हाम्रो होइन।
त्यसैले यो दिन हाम्रो लागि उत्सव होइन । प्रतिरोधको दिन हो।
प्रिय मित्रहरू,
हामी यो संविधान जलाउन चाहँदैनौं।
हामी यस संविधानलाई सुधार्न चाहन्छौं।
हामी यसको हरेक अनुच्छेदमा समानता, न्याय र पहिचान खोज्न चाहन्छौं।
यदि राज्यले फेरि पनि हामीलाई सुन्न अस्वीकार गर्छ,
हाम्रो पीडा देख्न अस्वीकार गर्छ,
हाम्रो आन्दोलनलाई फेरि अपराधीकरण गर्छ भने हामी फेरि आन्दोलन गर्छौं। तर यो आन्दोलन झन बलियो हुनेछ, झन गहिरो हुनेछ।
संविधान दिवस मनाउने शासकहरूप्रति म आज एक कुरा स्पष्ट भन्न चाहन्छु।
हाम्रो मौनता कमजोरी होइन।
हाम्रो विरोध कुनै विदेशी निर्देशन होइन।
यो हाम्रो अधिकारको आवाज हो।
हामी संविधानमा समेटिन चाहन्छौं।
तर होइन भने ।
हामी यस्तो संविधान आफैं बनाउनेछौं, जुन साँच्चिकै हाम्रो हुनेछ।
अन्त्यमा,
यो ‘कालो दिवस’ कुनै अन्धकारको प्रतीक होइन,
यो समाजको चेतना, विवेक र प्रतिरोधको उज्यालो हो।
हामी आज कालो लगाएर सडकमा उत्रिएर शासनलाई झापड दिइरहेका छौं।
तर यो झापड विनाशका लागि होइन,
यो जागरणका लागि हो।

रचनाकार ठाकुर मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता हुन् । सं.

Author:



क्याटोगरी छान्‍नुहोस