सूचना विभागबाटै अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण

काठमाडौँ । अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण गर्ने सम्पूर्ण प्रक्रिया सूचना विभागमार्फत हुने भएको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो व्यवस्था गर्ने निर्णय गरेको हो । यसअघि अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने तयारी भएको थियो । तर, सरकारको नयाँ निर्णयअनुसार अनलाइन सञ्चारमाध्यमसम्बन्धी सम्पूर्ण प्रक्रिया सूचना विभागबाटै हुने भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्णयले सञ्चारमाध्यमलाई सहज बनाउने बताए । उनका अनुसार पहिले जिल्ला–जिल्लामा गएर प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता अब हट्नेछ । एकै स्थानबाट दर्ता र नवीकरण गर्न सकिने भएकाले समय र खर्च दुवैमा बचत हुनेछ ।

सोही बैठकले सुरक्षण मुद्रणसम्बन्धी नियमावली पनि स्वीकृत गरेको छ । उक्त नियमावली कार्यान्वयन भएपछि सुरक्षण मुद्रण कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस