पत्रकारिता तरबारको धारजस्तै : प्रधान सम्पादक महतो (हेर्नुहोस् भिडियो)

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का प्रधान सम्पादक शीतल महतोले पत्रकारिता तरबारको धार जस्तै भएकोले सावधानीपूर्वक कलम चलाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

मधेशलाइभसँग कुराकानी गर्दै नवनियुक्त प्रधान सम्पादक महतोले वर्तमान अवस्थामा पत्रकारिताको महत्व अझै बढेकोले पत्रकारहरू थप जिम्मेवार हुनुपर्ने बताए । पत्रकारले आम नागरिकको आवाजलाई राज्यसम्म पु¥याउने कार्य गर्नुपर्ने बताउँदै उनले भने, “पत्रकारिता तरबारको धार जस्तै हो, त्यसैले सावधानीपूर्वक चलाउनु आवश्यक छ, आम नागरिकको आवाज राज्यसम्म पुर्याउनु पत्रकारको कर्तव्य हो ।”

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिवसमेत रहिसकेका उनले पछिल्लो समय नयाँ पुस्ताका पत्रकारमा अध्ययन–अनुसन्धानतर्फ रुचि घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । जनसरोकारका सवालहरू सञ्चारमाध्यमको प्राथमिकता हुनुपर्ने बताउँदै राससका प्रधान सम्पादक महतोले फिल्डमा गएर रिपोर्टिङ गर्नुपर्नेमा जोड दिए ।

न्यून स्रोत–साधन र जनशक्ति अभावका बीच राससले वर्तमान अवस्थासम्म आइपुग्दा निकै फड्को मारेको उनले चर्चा गरे । नेपाली र अंग्रेजीका साथै नेपाल भाषा र मैथिली भाषामा समाचार बुलेटिन सञ्चालनमा रहेको जानकारी दिँदै उनले भने, “भोजपुरी र तामाङ भाषाको बुलेटिनसमेत सञ्चालनको तयारीमा छौँ ।”

२०५३ सालमा मिडिया प्वाइन्टबाट आधारभूत पत्रकारिता तालिम लिएका उनले २०५४ सालमा राष्ट्रिय समाचार समितिमा संवाददाताका रूपमा प्रवेश गरेका थिए । वीरगञ्जलगायतका स्थानहरूमा रहेर पत्रकारिताको अनुभव संगालेका महतो कार्यकारी सम्पादक, व्यवस्थापक तथा प्रशासन प्रमुखसमेतको अनुभव प्राप्त गर्दै दुई साता अघि मात्र राससको प्रधान सम्पादक नियुक्त भएका हुन् ।

राससको प्रधान सम्पादकको जिम्मेवारी पाउने उनी पहिलो मधेशी हुन् । मधेश प्रदेशको धनुषा निवासी उनी लामो समयदेखि राजधानी काठमाडौँमा रहेर पत्रकारिता गर्दै आएका छन् ।
हेर्नुहोस् भिडियो

Author:



क्याटोगरी छान्‍नुहोस