काठमाडौँ । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतनिक वाणिज्यदूत तथा ‘कन्सुल’लाई पदमुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले आगामी वैशाख २८ गते सोमबार दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ अनुमोदनका लागि संघीय संसद्समक्ष पेश गर्ने निर्णय गरेको छ ।
यस्तै, अन्तर्राष्ट्रिय श्रम संगठनकै श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) लाई पनि अनुमोदनका लागि संसद्मा पेश गर्ने निर्णय गरिएको छ ।