राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले विवाह, चाडपर्व तथा अन्य सांस्कृतिक कार्यक्रममा अत्यधिक ठूलो आवाजमा बाजा तथा डिजे नबजाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
कार्यालयद्वारा जारी सूचनामा सार्वजनिक स्थान तथा आवासीय क्षेत्रमा ठूलो आवाजमा बाजा/डिजे बजाउँदा ध्वनि प्रदूषण भई मानव स्वास्थ्य तथा अध्ययनको वातावरणमा नकारात्मक असर परेको भन्दै यसबारे व्यापक गुनासो आएको उल्लेख गरिएको छ।
सूचनाअनुसार गृह मन्त्रालयको पत्रका आधारमा शान्ति सुव्यवस्था कायम राख्न तथा अरू व्यक्तिलाई असर नपर्ने गरी मात्रै विवाह, चाडपर्व तथा अन्य सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा सबै सम्बन्धित पक्षलाई ध्वनि प्रदूषण नियन्त्रण गर्दै सभ्य र शान्तिपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न गर्न प्रशासनले अपिल गरेको छ।