राजविराज । बालविवाह न्यूनीकरण गर्ने उद्देश्यसहित महोत्तरीको बर्दिबास नगरपालिकाले २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने नगर क्षेत्रका प्रत्येक छोरीलाई ५१ हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा समावेश गरिएको उक्त व्यवस्थाले कानुनी उमेरमा विवाह गर्ने संस्कृतिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले बताए। उनका अनुसार यसले बालविवाह नियन्त्रणसँगै समाजमा सचेतना अभिवृद्धि गर्न पनि सहयोग पुग्नेछ।
यसअघि २०८० साल चैत ५ गते नगरपालिकाले मुसहर समुदायलाई लक्षित गर्दै २० वर्ष उमेर पूरा गरी विवाह गर्ने जोडीलाई ५० हजार रुपैयाँ प्रोत्साहन दिने घोषणा गरेको थियो। नगर कार्यपालिकाको अभिलेखअनुसार हालसम्म बर्दिबास–१२ का एक जोडीले मात्र उक्त सुविधा प्राप्त गरेका छन्।
नगरपालिकाका १४ वटै वडामा मुसहर समुदायको बसोबास रहे पनि एक जोडीले मात्र प्रोत्साहन दाबी गर्नुले समुदायमा अझै बालविवाहको समस्या कायम रहेको अनुमान गरिएको सामाजिक तथा राजनीतिक कार्यकर्ता देवनारायण महतोले बताए।
झण्डै एक लाख जनसंख्या रहेको बर्दिबास नगरपालिकाका १३ वटा वडा पछिल्ला दुई वर्षभित्र बालविवाहमुक्त वडा घोषणा भइसकेका छन्। अब बर्दिबास–१२ मात्र बालविवाहमुक्त घोषणा हुन बाँकी रहेको छ।
नगरप्रमुख क्षेत्रीका अनुसार आम समुदायका छोरीका लागि मात्र नयाँ व्यवस्था गरिएको भए पनि मुसहर समुदायमा बालविवाह नियन्त्रण गर्ने उद्देश्यले पुरुष र महिलादुवैलाई प्रोत्साहन दिने अघिल्लो व्यवस्था यथावत राखिएको छ। महिला अधिकारकर्मीहरूले नगरपालिकाको यो निर्णयलाई सामाजिक सुधारतर्फको सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्।