राजविराज । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय विवरण नगर वा गाउँ सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, सप्तरीका १८ स्थानीय तहमध्ये खडक नगरपालिकाबाहेक सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि निर्धारित समयभित्र बजेट सार्वजनिक गरेका छन्।
जिल्लामा सबैभन्दा पहिले रुपनी गाउँपालिकाले असार ५ गते ६७ करोड ९३ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो। उक्त बजेटमा मानवीय विकास, कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकता दिइएको छ।
सुरुङ्गा नगरपालिकाले असार ६ गते ८९ करोड १० लाख ८० हजार रुपैयाँको बजेट ल्याएको छ भने विष्णुपुर गाउँपालिकाले असार ७ गते ३९ करोड ५९ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यी दुवै स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास र रोजगारी प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेका छन्।
असार ८ गते बोदेबरसाइन नगरपालिका र राजगढ गाउँपालिकाले क्रमशः ८६ करोड २७ लाख ७० हजार र ३८ करोड ४८ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। कृषि, सिँचाइ, उद्योग, पर्यटन, स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उनीहरूको बजेटको केन्द्रमा राखिएको छ।
असार ९ गते डाक्नेश्वरी नगरपालिकाले ८१ करोड ७० लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको थियो। निर्धारित अन्तिम दिन असार १० गते राजविराज, शम्भुनाथ, कञ्चनरुप, सप्तकोशी, हनुमाननगर कंकालिनी नगरपालिका तथा बलान बिहुल, अग्नीसाइर कृष्णसवरण, छिन्नमस्ता, तिरहुत, तिलाठी कोइलाडी र महादेवा गाउँपालिकाले पनि बजेट सार्वजनिक गरेका छन्।
जिल्लामध्ये सबैभन्दा ठूलो बजेट राजविराज नगरपालिकाले १ अर्ब १५ करोड ४२ लाख ५९ हजार रुपैयाँको ल्याएको छ। यता खडक नगरपालिकाले भने कानुनले तोकेको समयसीमाभित्र बजेट प्रस्तुत गर्न नसक्दा जिल्लामा एकमात्र अपवाद बनेको छ।