नेपालमै छ सुगौली सन्धि, खोज्न अब बेलायत जानु पर्दैन

सीताराम बराल
नेपाल–भारतबीच सीमा विवादको सन्दर्भ जब आउँछ, त्यो बेला सन्दर्भ आउँछ, सुगौली सन्धिको।

प्रधानमन्त्री बालेन्द्र शाहले १७ जेठमा प्रतिनिधिसभाको प्रश्नोत्तरमा भारतसँगको सीमा विवादको सन्दर्भमा बेलायतको समेत सहयोग लिइने बताएपछि फेरि सुगौली सन्धिको चर्चा सुरु भएको छ।
त्यही सन्धिले नै मूल रुपमा तत्कालिन ब्रिटिस इण्डिया (हाल भारत) र नेपालबीच सीमा निर्धारण गरेकाले सीमाबारे चर्चा हुँदा सुगौली सन्धिको सन्दर्भ आउनु स्वभाविक पनि हो ।
दुई दिने भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले सुगौली लगायतका सन्धिहरु खोजीका लागि बेलायत सरकारको सहयोग लिइने संकेत गरेका छन्।
नेपालको बेलायत सरकारसँग मित्रवत् सम्बन्ध रहेको बताउँदै मन्त्री खनालले भनेका छन् कि, आवश्यकता परेका बेला ‘एक्सेस अफ डकुमेन्ट’को हिसाबले उनीहरूसँग छलफल र सहकार्य गर्न सकिन्छ।
लामो समयदेखि नेपालसँग नेपाल–ब्रिटिस इण्डियाबीचको सुगौली सन्धि नभएको चर्चा हुँदै आएको छ ।
त्यसैले, नेपाल–भारतबीच सीमानाको सन्दर्भ आउँदा होस् वा सम्पूर्ण सन्धिहरु अध्ययनको सन्दर्भ आउँदा सुगौली सन्धि खोजी र नेपालसँग सुगौली सन्धिको सक्कल प्रति नै छैन भन्दै खोजीका लागि बेलायततिर दौडने तयारी सुरु हुन्छ ।
सायद अबपनि त्यही हुने होला ।
हालसालै सुगौली सन्धिबारे जानकार अधिकारीहरुसँग कुराकानी गर्दा थाहा भयो, सुगौली सन्धिको सक्कल प्रति खोज्ने भन्दै सम्बद्ध अधिकारीहरु तीन पटक लण्डनस्थित ब्रिटिस लाइब्रेरी पुगिसके रे
यसबाट देखिन्छ, सन्धि–सम्झौता वा सीमाबारे अध्ययन गर्न जाने भन्दै लण्डन घुम्न जाने धन्दा प्रबृत्ति नै बनिसकेको छ ।
तर, सुगौली सन्धि नेपालमै नभएको होइन । नभएको त पुराना कागज खोज्ने जाँगर पुरानो जमानामा प्रचलित भाषाको जानकारी मात्र हो ।
सुगौली सन्धि फारसी, अंग्रेजी र नेपाली गरी तीन भाषामा तयार पारिएका कागजातमा हस्ताक्षर भएको थियो ।

प्रचलनमै नरहेकाले फारसी भाषा आजकल नेपालीहरुले बुझ्ने कुरा भएन ।
दुई सय वर्ष अघिको नेपाली र अंग्रेजी भाषामा पनि निकै ठूलो परिवर्तन आइसक्यो । त्यसैले, नेपाली भाषा नै भएपनि पुराना अक्षर हामी सजिलै पढ्न सक्दैनौँ । त्यस्ता कागजात पढ्न पुरानो भाषाका विशेषज्ञहरु नै आवस्यक पर्छ ।
यो स्थितिमा नेपालमै भएको कागजात केलाउने र सुगौली सन्धि यही हो भनेर पत्ता लगाउने कसलेरु पुराना पोका खोतल्दै धुलो टक्टम्याउने र ढुसी पुछ्ने दुख गर्नुभन्दा ‘सुगौली सन्धि बेलायतमा छ, त्यहीँबाट खोजेर ल्याऊँ’ भन्न सजिलो हुने भयो, घुमघामपनि गर्न पाइने भयो ।
तर, राज्यसँग रहेका पुराना कागजातका पोका खोतल्ने हो भने, सुगौली सन्धिपनि भेटिन्छ, १९५० को सन्धिपनि
मात्र हुनुपर्यो जाँगर र उतिबेला प्रयोग हुने भाषाको जानकारी १
हालसालै मैले राज्यको एक निकायसँग रहेको, ९ पृष्ठको सुगौली सन्धिको अंग्रेजी प्रति मैले पनि हेर्ने मौका पाएँ ।
प्रधानमन्त्री शाहको १७ जेठको अभिव्यक्तिपछि नेपाल–भारतबीचको सीमा समस्या फेरि सतहमा आएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले विवाद पनि सिर्जना गरेको छ ।
यो स्थितिमा सीमा वा सन्धिको अध्ययन गर्न अब फेरि कार्यदल बन्लान्। कार्यदल नबनेपछि अध्ययन सुरु होला । त्यसक्रममा फेरि सुगौली सन्धि आवस्यक पर्ला, त्यसको खोजी होला।
सन्धि खोज्न फेरि बेलायत जाने कुरा उठ्ला ।
तर, सन्धि नेपालमै छ, यहाँ प्रस्तुत गरिएको दस्तावेज ९ पृष्ठमा समेटिएको त्यही सुगौली सन्धिको अघिल्लो पृष्ठको सबैभन्दा सुरुवाती अंश हो ।
कामना छ, कृपया फेरि पनि ‘सुगौली सन्धि खोज्नुपर्यो’ भन्दै बेलायत जाने धन्दा नचलाइयोस् । । लेखक बराल पत्रकारिता तथा अनुसन्धानमा सक्रिय छन् । सं.

Author:



क्याटोगरी छान्‍नुहोस