जनकपुरधाम । धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापा चोकको एक होटलबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–४ का २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका १८ वर्षीय सुधिर मुखिया रहेका छन्।
प्रहरीले होटलमा खाना खान आएका दुई युवकसँग अवैध हतियार रहेको गोप्य सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोज यादवका अनुसार पक्राउ परेकाहरूको साथबाट एक थान पेस्तोल, उक्त पेस्तोलमा प्रयोग हुने एक थान म्यागजिन, ९ एमएम केएफ लेखिएको एक थान गोली तथा ७.६५ एमएम केएफ लेखिएका तीन थान गोली बरामद गरिएको छ।
बरामद गरिएका हतियार तथा गोलीको स्रोत, उद्देश्य र प्रयोगबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध प्रचलित कानुनबमोजिम हतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।
प्रहरीले अवैध हतियारको ओसारपसार तथा प्रयोग नियन्त्रण गर्न विशेष निगरानी र सूचना संकलनलाई तीव्र बनाइएको जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।