मधेशका पालिकाका समस्या समाधानमा केन्द्र–प्रदेशबीच उच्चस्तरीय छलफल

जनकपुरधाम । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच आज छलफल भएको छ।

स्थानीय तहमा देखिएका समस्या समाधान तथा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो । भेटवार्तामा स्थानीय तहमा कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य प्रशासनिक चुनौतीबारे विस्तृत परामर्श गरिएको छ ।

मुख्यमन्त्री यादवले मधेश प्रदेशका स्थानीय तहमा देखिएका समस्याबारे जानकारी गराउँदै ती समस्याको समाधानका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। छलफलका क्रममा मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले तीन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरी विभिन्न पालिकामा स्थलगत सहजीकरण तथा समन्वय गरिरहेको जानकारी दिए ।

टोलीले पालिका प्रमुख, उपप्रमुख तथा सम्बन्धित पदाधिकारीसँग छलफल गरी स्थानीय तहका समस्या, आवश्यकता र चुनौतीबारे स्थलगत विवरण सङ्कलन गरेको जनाइएको छ । मन्त्री रावलले स्थानीय तहका समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गरे ।
भेटवार्तामा मन्त्रालयका सचिव, सहसचिव तथा प्रतिनिधिसभा सदस्य रहबर अन्सारी समेतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस