राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर –१ स्थित खुरहुरिया चौकमा मधेशलाइभ पोडकास्टको स्टुडियो तथा दलान न्यूज डट्कम्को कार्यालय सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादव र वडा अध्यक्ष बलराम यादवले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष यादवले आफ्नो पालिकामा सञ्चारगृह र सञ्चार कार्यालय स्थापना हुनुले आफुहरु गौरवान्वित भएको बताए । पत्रकारिता क्षेत्रमा लामो अनुभवले खारिएका व्यक्तिहरुको सक्रियतामा आगामी दिनमा सञ्चारक्षेत्रमा उदाहरणीय एवम् सकारात्मक परिवर्तन आउने अध्यक्ष यादवले विश्वास व्यक्त गरे ।

वडा अध्यक्ष बलराम यादवले ग्रामिण भेगमा सञ्चारगृह स्थापनाले सामाजिक रुपान्तरणका साथै शोषित उत्पीडित जनताको आवाज बुलन्द हुने विश्वास व्यक्त गरे । अवकाशप्राप्त शिक्षक हरिनारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कान्तिपुर दैनिकका सम्वाददाता विद्यानन्द राम, नयाँ पत्रिकाका सम्वाददाता सौरभ यादव, कैलाश कुमार यादव लगायतको उपस्थिति थियो । अभिव्यक्ति मिडिया प्रा.लि.द्वारा मधेशलाइभ डट्कम् आ मधेशलाइभ पोडकास्ट सञ्चालनमे अइछ । तहिना दलान मिडिया हाउसद्वारा दलान न्यूज डट्कम् सञ्चालनमे अइछ ।
यसअघि शिक्षक यादवले आफ्नी दिवङ्गतआमाको नाममा ९ कोठे पार्वती कम्प्लेक्सको समेत पालिका अध्यक्ष र वडा अध्यक्षले उद्घाटन गरेका छन् । सोही अवसरमा खुरहुरिया चौकमा सबभन्दा पहिला चिया पसल थापेर व्यवसाय शुरुवात गरेका स्थानीय जगदिश साह (हलुवाई)लाई चौक विस्तारमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको छ ।