काठमाडौं । वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा असार २६ गते निधन भएका मुगुको सोरु गाउँपालिका–१ जवलधाराका २५ वर्षीय गणेश नेपाली प्रकरणमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको सहमतिअनुसार सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समितिले गठन भएको सात दिनभित्र नेपाल सरकारसमक्ष प्रतिवेदन बुझाउने सहमति भएको छ।
सहमतिपत्रमा स्वर्गीय गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।
घटनाका दिन घटनास्थलमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई छानबिन आयोगको प्रतिवेदन र सिफारिसका आधारमा आवश्यक कारबाही गरिने गरी हाललाई निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयमार्फत काठमाडौं महानगरपालिकालाई लेखी पठाइने सहमति भएको छ।
त्यस्तै, मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा काठमाडौं महानगरपालिकामा रोजगारी उपलब्ध गराइने तथा मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने सहमति गरिएको छ। यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले आवश्यक समन्वय गर्ने जनाइएको छ।
सहमतिअनुसार काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गरी मृतकका आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइनेछ। साथै, मृतकको अन्तिम संस्कार (सद्गत) र काठमाडौंमा हुने काजक्रियाका सम्पूर्ण आवश्यक व्यवस्था महानगरपालिकाले मिलाउनेछ।
पीडित परिवारले शव बुझ्ने, शव परीक्षण (पोष्टमार्टम) लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने तथा सद्गतको जिम्मेवारी लिने सहमति पनि भएको छ। मृतकका एकाघरका परिवारजनको काठमाडौं आउजाउ तथा काजक्रियाका क्रममा बसोबास र अन्य आवश्यक खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ।
यसबाहेक, पीडित परिवारका एकाघरका सदस्यहरूको स्वास्थ्य बिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत आवश्यक व्यवस्था मिलाइने सहमतिपत्रमा उल्लेख छ। उक्त सहमतिपत्रमा नेपाल सरकार तथा स्थानीय तहका तर्फबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईन्द्रराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन्।
पीडित परिवारका तर्फबाट मृतककी श्रीमती एकमाया नेपाली, बुबा बिने नेपाली, आमा सोरी नेपाली, दाजु मदन नेपाली, बहिनी सुन्दरी नेपालीसहित वार्ता समितिका सदस्यहरूले पनि सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।