सीताराम बराल
साँच्चि नै भन्नुपर्दा बालेन्द्र शाह प्रधानमन्त्री बनेकोमा खुसी हुनेमा म पनि थिएँ। ‘राजनीतिमा नयाँ अध्याय सुरु भयो, नयाँ राजनीतिक पुस्ता देश सम्हाल्न आयो’ भन्ने कुराले निकै आशावादी बनाएको थियो। तर, पछिल्ला दिनमा राज्यले गरिव, निसहाय नागरिक, राष्ट्रसेवकहमाथि गरेका जस्ता व्यवहार सार्वजनिक भएका छन्, हामी भ्रमित पो रहेछौँ भन्ने लाग्न थालेको छ।
अपराधी सहाराविहीन छ भने उसले एक्लै अपराध गर्छ। राज्यशक्तिमा छ भने अपराधका लागि राज्यसंयन्त्र प्रयोग गर्छ। अहिले राज्यका निकायहरुबाट निमुखा जनतामाथि जुन वर्वरतापूर्ण अपराध भइरहेको छ, त्यो अपराध हो।
र, हामीले हाम्रो शासनका लागि गरेको छनोट त्रुटिपूर्ण रहेछ भन्ने कुराको प्रमाणपनि हो। खासमा भन्ने हो भने मलाई पुरानाहरुप्रति अझै विश्वास छैन। पुराना राजनीतिक दलका शीर्ष नेताहरुमा सुधारको कुनै संकेत र सम्भावना देखिन्नँ।
पुराना दलहरुभित्र युवा पुस्ता निर्णायक रुपमा आउन सकेन। यो कुराले निराश बनाउँछ। यति हुँदाहुँदै पनि सत्य कुरा के हो भने, अहिले शासनसत्तामा रहेकाहरु जस्ता उनीहरु निर्देयी थिएनन्। उनीहरु बिग्रिन ३० वर्ष लागेको थियो, सत्तामा पुगेको ३ महिनामै जस्तो उदाङ्गो भएका थिएनन्।
गणेश नेपालीको आत्मदाह ‘नयाँ’ हरु सत्तामा पुगेको ३ महिनापछि नै भएको छ। प्रेमप्रसाद आचार्यको आत्मदाह बहुदल आएको ३० वर्षपछि भएको थियो। अहिलेजस्तो एउटै पार्टीको झण्डै दुई तिहाईसहितको दुर्लभ बहुमत पनि पुरानहरुसँग हुँदैनथ्यो। उनीहरुको जीवन संघर्षमा बितेको थियो। विदेशी विश्वविद्यालयबाट डाक्टर, इन्जिनियर, अन्तर्राष्ट्रिय सम्बन्ध–कुटनीति जस्ता विषय पढेर आएका पनि थिएनन्।
उनीहरुले जे–जति गरे, ‘लनिङ बाई डुइङ’ का आधारमा गरे। अहिले शासनसत्तामा रहेकाहरुको पिता–पुस्तालाई उनीहरुले नै अवसर आर्थिक–शैक्षिक अवसर सिर्जना गरिदिए। उनीहरुले संघर्ष नगरिदिएको भए अहिलेको नयाँ पुस्तापनि २०६२–०६३ वा २०४६–०४७ तिर नै हुन्थ्यो।
ख्याल राखौँ– पुरानाहरुको त्यस्तै सीमाका बीच प्रेमप्रसाद आचार्यको आत्मदाह बहुदल आएको झण्डै ३० वर्षपछि भएको हो। अहिले गणेश नेपालीको आत्मदाह ‘नयाँ’ हरु सत्तामा पुगेको ३ महिनामै भएको छ।
प्रेमप्रसाद आचार्यले आत्मदाह गर्दा पुराना गृहमन्त्री ससदमा गएर बोल्न डराए र लजाए पक्कै। यस्तो घटना हुँदा उनीहरु पराजित महसुस गर्थे। अहिलेजस्तो गृहमन्त्रीहरु ‘विजयी मुद्रा’ मा संसदमा गएर राज्यले गरेको गल्तीका कारण भएको आत्मदाहप्रति प्रश्न उठाउने सांसदहरुलाई उल्टो गाली गर्ने हिम्मत गर्दैनथे। यस्ता घटनामा लोकप्रियताका लागि गृहमन्त्रीबाटै ‘स्टण्टबाजी ’त कल्पना भन्दा बाहिरको कुरा थियो।
गृहमन्त्री कस्ता व्यक्ति चयन गरिन्छन्, त्यो पनि शासनको शीर (प्रधानमन्त्री) मा कस्ता व्यक्ति हुन्छन् कुरामा पर्ने रहेछ। Courtesy: facebook