रौतहटमा २८ वर्षीय युवकले गरे आत्मदाहको प्रयास

रौतहट । रौतहटको गरुडा नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। घटनामा उनको शरीरको करिब ३१ प्रतिशत भाग जलेको छ।

गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीका अनुसार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्किएपछि आगो लगाएका थिए। घटनापछि परिवारका सदस्य र स्थानीयवासीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि गरुडास्थित अस्पताल लगेका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार आगलागीका कारण सहनीको घाँटीदेखि तलसम्मको शरीरको करिब ३१ प्रतिशत भाग जलेको छ। उनको अवस्था हाल मध्यम रहेको प्रहरीले जनाएको छ।

गरुडास्थित अस्पतालमा प्रारम्भिक उपचार गरिएपछि सहनीलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा रिफर गरिएको छ। सहनीले आत्मदाहको प्रयास गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
एआइ निर्मित प्रतिकात्मक तस्विर ।

Author:



क्याटोगरी छान्‍नुहोस