अतिक्रमित जग्गाले चाहिँ बैद्धता पो प्राप्त गर्याे, है रामसर…

नित्यानन्द मण्डल

म जनकपुरधामको अग्रणी यूवा कमिटी हुँ, यहाँको सामाजिक, धार्मिक तथा साँस्कृतिक सम्पदा, अमूल्य निधिको संरक्षण–सम्बद्र्धन गर्दैछु, म तिम्रो उत्तरी डिलमा डेरा जमाएको छु । यहाँ समाजका हरेक वर्ग र तप्काका मानिस आउँछन् । सामयिक मुद्दाहरुमा विचार विर्मश गर्छन् तर तिमीसँग मतलब हुँदैन् किनभने हामीलाई राजनीतिकर्मीको सेवा समर्पणमा अहोरात्र जुट्नु पर्या छ । यहाँ योग पनि सधैं हुन्छ । अनुलोम विलोम गर्दा कहाँकसैको नाकमा दुर्घन्ध ढुकेको छ ।

सरकारी दाना पानी खाएर म मोटाएको संस्थान हुँ । केवल भाडा असुल्छु अनि आमजनको घुँठी तोड्छु । म तिम्रो पूर्वी मुखमा बस्छु ।

म मिथिलाका शिरमौर संस्था छु । जनचेतना अभिवृद्धि गर्न गाउँ–टोलसम्म सरसफाई तथा स्वच्छता सम्बन्धि नाटक गर्छु, हामी आफैँ निमुधन छौँ, हाम्रो कसले टेर्छ ? त्यसैले तिम्रो दशा हेरेर पनि चुप छु । म तिम्रो पूर्वी छातीमा बस्छु ।

म सामाजिक संघसंस्थाहरुको पूर्व अध्यक्ष छु । मेरो कहाँ विहानबेलुका यहाँका राजनीतिक, सामाजिक कार्यकर्ताहरु आउँछन्, चिया खान्छन्, गफ चुट्छन् तर तिम्रो विषय कहिल्यै प्रमुख मुद्दा भएन ।
म पूर्व मन्त्री तथा सत्तासमर्थक वर्तमान माननीयका परिजनपुरिजन छु । विरासतमै घराना शैक्षिक संस्था पनि छ मेरो । तर शिक्षाको चहकिलो घाम तिमीमा पर्दैन । यहाँ चुनावका बेला टोकना चढेको हुन्छ । सबै भोज खाएर तिम्रै डिलमा पिशाव फेर्छन् ।

यस्तै, म पनि पूर्व मन्त्री तथा प्रभावशाली नेताका डोनर समाजसेवी हुँ म पनि तिम्रै छेउमा छु । दशैँमा निःशुल्क भोजन तथा छठिमा पुजन सामाग्री तथा साडी बाँड्छु । सबैले मलाई समाजसेवी भन्छन्, र, त…गोरखादक्षिणबाहु पनि पाउँछु, म तिम्रो तिनै कुन्नामा छु ।

यिनीसँगै म पनि धनकुवेर सत्तासीन मन्त्रीका आफन्त हँु, म पनि तिम्रै नजिक छु । म पनि एक अर्का प्रतिस्पर्धी यूवा कमिटी हुँ, म तिम्रो दुर्गतिको साक्षी भएर पश्चिमी डिलको सडक किनारमा बस्छु । मलाई यिनीहरु जस्तै केबुलकार चढ्न फुर्सद छैन् । अनि तिमी नै भन रामसर हामी तिमी भन्दा कम्ती बलिया छैनौं ? हामी बीच एकता छ । धनुष सागर र गंगासागरमा छठका लागि यति साह्रो धुमधडक्का हुँदा, यिनीहरुका यति नजिक हुँदाहुँदै पनि तिमी कहाँ कोही खोक्न पनि आउँदैन । यहाँ पनि यहाँको अगुवाको ध्यान गएको भए, सबै ब्रतालुलाई अटाउन सकिन्थ्यो ।

तिम्रो चीरहरणको साक्षी हामी सबै बसेका छौं । बोल्नलाई बोल्न देऊ, तिम्रो समर्थनमा तर हामी गोलवद्ध छौँ तिम्रो विपक्षमा । जेहोस्, यसवीच तिमीलाई पनि सौन्दयर्यीकरणको नाउँमा घाट निर्माण पो भो, यसमा के कति अनियमितता भो, मलाई के मतलव तर अतिक्रमित जग्गाले चाहिँ बैद्धता पो प्राप्त गर्याे, है रामसर …

लेखक मण्डल, समसामयिक विषयमा कलम चलाउँछन् । सं.

Author:



क्याटोगरी छान्‍नुहोस