उमेश कुमार यादव
हरेक खालको सत्ता- जस्तै राजनीतिक सत्ता, आर्थिक सत्ता, सञ्चार सत्ता, फौजी सत्ता, सांस्कृतिक सत्ता, सामाजिक सत्ता लगायतका राज्यसत्तासँग जोडिएका संरचनाहरूलाई कब्जा गरेर बसेका वर्ग, जाति, समुदायसँग बिन्ती गरेर उत्पीडित वर्ग, जाति, समुदाय कहिल्यै पनि अधिकार सम्पन्न हुन सक्दैनन्। यसको लागि त हरेक सत्ताको संरचनात्मक ढाँचा विघटन गरेर उत्पीडितहरूले आफ्नो अनुकूलताको संरचना बनाउनु जरुरी छ।
उपनिवेशबाट भारत स्वतन्त्र भएपछि तेलाङ्गानाको किसान आन्दोलनलाई कसरी र किन दबाइयो, कुल्चियो? स्वतन्त्र भारतमा पहिलो चोटि, १३ सेप्टेम्बर १९४८ मा, आफ्नै देशका मजदुर–किसानहरूको विरुद्धमा कुन वर्ग, जाति, समुदायको पक्षमा सैन्य परिचालन भयो ? किन ?
किसान–मजदुरको आम नरसंहारपछि तेलाङ्गानाको नालगोंडा जिल्लास्थित पोचमपल्ली गाउँमा १८ अप्रिल १९५१ मा भूदान यज्ञ सुरु गरेर विनोबा भावेले किसान–मजदुरको पक्षमा काम गरे कि सामन्त, जमिन्दार र हजारौँ वर्षदेखि समाजमा आधिपत्य जमाउँदै आएका शक्तिशाली वर्गको पक्षमा?—गहिरिएर बुझ्न जरुरी छ।
त्यस्तै, बिहारको मुजफ्फरपुर जिल्लाको मुसहरी प्रखण्डमा सन् १९७० तिर किसान–मजदुरले संघर्ष गरेर तेलाङ्गानाका किसानजस्तै सामन्त–जमिनदारबाट आफ्नो पुर्खाको लुटिएको जमिन फिर्ता लिएर किसान–मजदुरमा बाँडे। भूदान यज्ञ को हतियार, सत्ताको ताकत र फ्रिडम फ्राम हङ्गर क्याम्पेन (FFHC) को Association of Voluntary Agencies for Rural Development नामक एनजीओमार्फत आर्थिक सहयोगसमेतका भरपुर साथमै जयप्रकाश नारायणले एक वर्षसम्म त्यहीँ डेरा जमाएर बसे। त्यसपछि किसान–मजदुरमाथि निर्मम दमन भयो र भागेका सामन्त–जमिनदारको बर्चस्व पुनः कायम गरियो।
हामीले बुझ्न जरुरी छ- सन्त विनोबा भावे र लोकनायक जयप्रकाश नारायण किसान–मजदुरको पक्षमा उभिएका थिए कि सामन्त–जमिनदार तथा वर्षौँदेखि समाज र राज्यसत्तामा एकल बर्चस्व कायम गर्नेहरूको पक्षमा?
सन्त विनोबा भावेले इन्दिरा गान्धीको इमर्जेन्सीलाई अनुशासन पर्व को संज्ञा दिएका थिए भने लोकनायक जयप्रकाश नारायणले अतिवादी हिन्दुत्ववादीलाई राजनीतिक रंगमञ्चमा आदरका साथ बसालेका थिए।
उत्पीडितहरूले सोच्नुपर्ने—धार्मिक अतिवादको घोडा चढेर आफू जन्मिएको वर्ग, जाति, क्षेत्रको मुक्ति सम्भव छ र? यसको नालीबेलीबारे बहस गरौँ।
लेखक यादव, कम्युनिष्ट नेता विश्लेषक हुन् ।