अपेक्षाको भार, राजनीतिको सीमा र आर्थिक समृद्धिको साझा बाटो

निता थापा

नेपाली राजनीतिको रङ्गमञ्चमा अहिले एउटा नयाँ तर गम्भीर बहस सुरु भएको छ— के हाम्रा नेताहरू दलीय घेरा र व्यक्तिगत प्रतिष्ठाभन्दा माथि उठेर मुलुकको हितमा एक ठाउँमा उभिन तयार छन्? नागरिकले जसप्रति बढी आशा र भरोसा राखेका हुन्छन्, उसैका साना गल्ती वा अनुपस्थितिले पनि जनमानसमा ठुलो तरङ्ग पैदा गर्छ। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक र त्यसमा नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाको अनुपस्थितिले यस्तै एउटा गम्भीर विमर्शको ढोका खोलेको छ।

​गगन थापा समकालीन नेपाली राजनीतिका ती विरलै नेतामध्ये पर्छन्, जसले आफ्नै पार्टीभित्र र बाहिरको अनेकौँ राजनीतिक राप, ताप र हण्डर खाएर आफूलाई खारेका छन्। उनीसँग देश रूपान्तरणको स्पष्ट मार्गचित्र छ, भिजन छ र युवा पुस्तालाई जोस भर्ने ऊर्जा छ भन्ने कुरामा कसैको दुई मत छैन। विडम्बना, राजनीतिमा योजना मात्र भएर पुग्दैन, त्यसलाई कार्यान्वयन गर्ने कार्यकारी पदको आवश्यकता पर्छ। कार्यकारी भूमिकामा बस्न नपाउँदा उनका कतिपय कार्ययोजनाहरूले मूर्तरूप लिन पाएका छैनन्। अझ हालैको चुनावको परिणामले उनलाई संसद्‌बाहिर राख्दा संसद्‌मा सुनिने एउटा प्रखर र तार्किक आवाज नागरिकले मिस गरिरहेका छन्।

​यस्तो पृष्ठभूमिमा, रवि लामिछानेले देशको समसामयिक संकट समाधानका लागि भन्दै बोलाएको सर्वदलीय बैठक एउटा सकारात्मक पहलकदमी थियो। यो कसले सुरु गर्‍यो भन्ने कुरा गौण हो, महत्त्वपूर्ण कुरा संवादको थालनी हुनु थियो। नागरिकको चाहना के थियो भने— गगन थापाजस्ता विचार र एजेन्डा भएका नेता त्यो बैठकमा उपस्थित हुनुपर्थ्यो। आफ्नो दलको मञ्चमा उभिएर भाषणमार्फत असन्तुष्टि वा आक्रोश पोख्नुभन्दा, सर्वदलीय बैठकको टेबलमा बसेर आफ्ना कुरा दरिलो र तर्कपूर्ण ढङ्गले राख्नु धेरै गुणा बढी फलदायक र परिपक्व राजनीतिको परिचायक हुन्थ्यो।

​”जसको धेरै माया लाग्छ, चित्त पनि उसै सँग बढी दुख्छ। आशा र भरोसा नभएका अन्य दलका नेताहरू बैठकमा नगएको कुराले नागरिकलाई खासै छुँदैन, तर गगन थापा जस्ता आशाका केन्द्रहरू चुक्दा भने मन अमिलो हुनु स्वाभाविक हो।”

​त्यो बैठकमा नगैदिनु पछाडि उनको आफ्नै व्यक्तिगत निर्णय थियो, सल्लाहकारहरूको कमजोरी थियो या राजनीतिक दम्भ, लघुताभाष र संकीर्णताले काम गर्‍यो? त्यो त उनैले जानून्। तर नागरिकको नजरमा, यसले एउटा सुन्दर अवसर गुमाएको आभास गराएको छ। नेतृत्वको परीक्षा संकट र सहकार्यको घडीमा हुन्छ।

​अहिले देश जुन आर्थिक मन्दी र अस्थिरताको चक्रव्यूहमा फसेको छ, यस्तो बेला सानातिना राजनीतिक तुष, अहम् र इख पालेर बस्ने विलासिता कसैसँग छैन। अबको हाम्रो साझा र एक मात्र मुद्दा ‘आर्थिक विकास’ हुनैपर्छ। युवाहरू रोजगारीका लागि विदेशिने क्रम रोक्ने, उद्यमशीलताको वातावरण बनाउने र थला परेको अर्थतन्त्रलाई उकास्ने कुरामा सबै राजनीतिक शक्तिहरूबीच एउटै स्वर हुनुपर्छ।

​रवि लामिछानेले चालेको यो संवादको कदम सह्रानीय छ। राजनीतिमा प्रतिस्पर्धा आफ्नो ठाउँमा होला, तर राष्ट्रिय मुद्दामा प्रतिशोध होइन, प्रतिवद्धता चाहिन्छ। आशा गरिएका नेताहरूले दलीय सङ्कुचित घेराभन्दा माथि उठेर संवादको टेबलमा बस्ने आँट गरून्। किनभने, नागरिकले अब भाषण होइन, साझा समस्याको साझा समाधान र मुलुकको आर्थिक रूपान्तरण हेर्न चाहन्छन्।

Author:



क्याटोगरी छान्‍नुहोस