पेस्तोलधारी समूहले युवकलाई घरबाटै लगेपछि सप्तरीमा प्रदर्शन

राजविराज । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा पेस्तोलसहित आएको अपरिचित समूहले घरबाटै २४ वर्षीय अभिनन्द यादवलाई उठाएर लगेपछि उनको अवस्था अज्ञात बनेको छ।

सोमबार मध्यराति ६–७ जनाको समूहले परिवारका सदस्यलाई कुटपिट गर्दै अभिनन्दलाई जबर्जस्ती आफूसँगै लगेको उनका काका अमोद यादवले बताए। उनका अनुसार समूहले घरको गेट घेरेर पेस्तोल ताक्दै अभिनन्दलाई उठाएर बलान नदीको बाटो हुँदै भारततर्फ लगेको आशंका छ। घटनास्थलबाट भारतीय सीमा करिब ५०० मिटर टाढा छ।

घटनापछि तत्काल प्रहरी नआएको भन्दै आफन्त र स्थानीयले मंगलबार बेल्ही प्रहरी चौकी अगाडि प्रदर्शन गर्दै घेराउ गरेका छन्। वडाध्यक्ष लक्ष्मीनारायण झाले प्रहरी चौकी र बीओपी नजिकै रहे पनि घरबाटै युवकलाई उठाएर लैजानु गम्भीर विषय भएको बताए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी रुपक खड्काले युवकको खोजी भइरहेको बताए। प्रारम्भिक जानकारीअनुसार उनी भारतमा गम्भीर प्रकृतिका अपराधमा संलग्न रहेको र भारतीय प्रहरीले नियन्त्रणमा लिएको हुन सक्ने उनले बताए। घटनाबारे भारतीय प्रहरीसँग समन्वय भइरहेको उनको भनाइ छ।

Author:



क्याटोगरी छान्‍नुहोस