जसपाद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार पार्टीले सहयोग रकम हस्तान्तरण गरेको हो । पार्टीका महासचिवद्वय डा. सुरेन्द्र कुमार झा, प्रकाश अधिकारी तथा विपद् व्यवस्थापन तथा राहत आर्थिक सहयोग संकलन समितिका संयोजक एवं पार्टी सचिव शैलेन्द्र प्रसाद साहसहितको प्रतिनिधिमण्डलले बुधबार नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी प्रधानमन्त्री राहत कोषमा रकम हस्तान्तरण गरेको हो ।

प्रतिनिधिमण्डलमा पार्टीका सदस्यहरू वीरेन्द्र प्रधान, रमेशबाबु श्रेष्ठ, पेशल ढकाल र भुवनेश्वर चौधरी सहभागी थिए । उनीहरूले चेकमार्फत रु. २१ लाख (अक्षरेपी एक्काइस लाख रुपैयाँ) राहत कोषमा प्रदान गरेका हुन् ।

जसपा नेपालले विपद्को समयमा प्रभावित नागरिकको साथमा रहनु सबैको साझा दायित्व र कर्तव्य भएको जनाएको छ । पार्टीले नेपाल सरकारको उद्धार, राहत तथा पुनःस्थापनाको अभियानलाई समर्थन गर्दै देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनी र दातृ निकायलाई समेत सहयोगका लागि अपिल गरेको छ ।

पार्टीले आफ्नो कोषमार्फत सञ्चालन गरिएको मानवीय अभियानमा आर्थिक सहयोग गर्ने पार्टीका विभिन्न तहका समिति तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद तथा सम्मान व्यक्त गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस