राजविराज । गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजले अस्पताल परिसरमा बच्चा जन्माएको घटनासम्बन्धी छानबिन पूरा नभएसम्म ६ जना कर्मचारीलाई कामकाजबाट हटाएको छ ।
अस्पतालले जारी गरेको पत्रअनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति अस्पतालको गम्भीर ध्यानाकर्षण भएको थियो । अस्पताल परिसरको मूल गेटनजिकै एक महिलाले बच्चा जन्माएको सम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको छानबिनका लागि अस्पतालले समिति गठन गरेको थियो ।
छानबिन समितिसहित घटनाबारे गठन गरिएका अन्य समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म सम्बन्धित कर्मचारीलाई कामकाजबाट हटाउने निर्णय गरिएको पत्रमा उल्लेख छ ।
कामकाजबाट हटाइएका कर्मचारीमा डा. उषा देव, स्टाफ नर्स मनिषा कुमारी साह, स्टाफ नर्स सजन चौधरी, का.स. रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झा रहेका छन् ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रणजित कुमार झाले मिति २०८३ भदौ २५ गते जारी गरेको पत्रमा छानबिन समितिको प्रतिवेदन प्राप्त नभएसम्म उनीहरूलाई कामकाजबाट हटाइएको जनाइएको छ ।
घटनापछि अस्पतालको सेवा व्यवस्थापन तथा कर्मचारीको जिम्मेवारीमाथि प्रश्न उठ्दै आएको थियो । अस्पतालले छानबिनबाट घटनाको वास्तविकता पत्ता लगाउने र त्यसका आधारमा थप निर्णय गर्ने जनाएको छ।