राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटमै एक महिलाले बच्चा जन्माएको घटनाले सरकारी स्वास्थ्य सेवामाथि गम्भीर प्रश्न उठाएको छ।
बुधबार राति करिब २ बजेतिर प्रसव पीडाले अस्पताल पुगेकी राजविराज नगरपालिका–१४ की ३० वर्षीया वविता कुमारी पासवानले अस्पतालको गेटबाहिरै बच्चा जन्माएकी हुन्। घटनासम्बन्धी भिडियो बिहीबार बिहान सामाजिक सञ्जालमा भाइरल भएपछि घटना सार्वजनिक भएको हो। सामाजिक सञ्जालमा सार्वजनिक दाबीअनुसार आर्थिक अवस्था कमजोर रहेकी पासवानलाई आवश्यक स्वास्थ्य परीक्षण र उपचारका लागि खर्च नभएका कारण अस्पतालबाट बाहिरिनुपरेको थियो। त्यसपछि उनले अस्पतालको गेटबाहिरै बच्चा जन्माउनुपरेको आरोप लगाइएको छ।
घटनाले विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच र सरकारी अस्पतालको आपत्कालीन प्रसूति सेवामाथि प्रश्न उठाएको छ। घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न मागसमेत भइरहेको छ। तर अस्पताल प्रशासनले भने महिलालाई उपचारबाट वञ्चित गरी बाहिर निकालेको आरोप अस्वीकार गरेको छ। अस्पतालका निमित्त प्रमुख जितेन्द्र कँडेलका अनुसार पासवान प्रसव व्यथामा अस्पताल आएकी थिइन्। उनका आफन्तलाई रगत, पिसाबलगायत आवश्यक स्वास्थ्य परीक्षण गराउन भनिए पनि उनीहरूले परीक्षण नगराई आफैँ अस्पतालबाट बाहिरिएको कँडेलले बताए।
अस्पतालको मूल गेटमा बच्चा जन्माएको जानकारी पाएपछि आमा र नवजात शिशुलाई अस्पतालमा ल्याएर सालनाल काट्नेलगायत आवश्यक उपचार गरी डिस्चार्ज गरिएको उनले बताए। कँडेलका अनुसार पासवानले चौथो सन्तानका रूपमा उक्त शिशुलाई जन्म दिएकी हुन्।
अस्पताल प्रशासनको भनाइ र सामाजिक सञ्जालमा सार्वजनिक आरोपबीच फरक देखिएकाले घटनाको वास्तविकता पत्ता लगाउन निष्पक्ष छानबिन आवश्यक देखिएको छ। साथै, स्वास्थ्य परीक्षण किन हुन सकेन, महिला अस्पतालबाट किन बाहिरिइन् र घटनाका बेला स्वास्थ्यकर्मीको भूमिका के थियो भन्ने विषय पनि स्पष्ट हुनुपर्ने देखिन्छ।