राजविराज । राजविराजमा बिटौरी जग्गाको लालपुर्जा माग गर्दै आन्दोलनरत व्यवसायीहरूले लगाएको तालाबन्दी मंगलबार प्रहरीले तोडेपछि स्थिति तनावग्रस्त बनेको छ। तालाबन्दी तोडिएसँगै आक्रोशित व्यवसायीहरूले विरोध प्रदर्शन गर्दै राजविराज बजार बन्द गराएका छन्।
बिटौरी जग्गाको स्वामित्व प्रमाणपत्र (लालपुर्जा) उपलब्ध गराउन माग गर्दै व्यवसायीहरू विगत तीन सातादेखि चरणबद्ध आन्दोलनमा छन्। आन्दोलन परिचालन समिति गठन गरेर आन्दोलन गरिरहेका उनीहरूले आफ्ना माग सम्बोधन गर्न जनप्रतिनिधिले पहल गर्नुपर्नेमा अनशनरत व्यवसायीमाथि प्रहरी परिचालन गरी बल प्रयोग गरिएको आरोप लगाएका छन्।
आन्दोलनरत पक्षले केही प्रभावशाली व्यक्तिहरूले जनप्रतिनिधि तथा कर्मचारीलाई प्रभावमा पारेर लालपुर्जा प्राप्त गरिसकेको भए पनि वास्तविक भोगचलनकर्तालाई भने बेवास्ता गरिएको दाबी गरेका छन्। गत आइतबार अनशनस्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बिटौरी जग्गाको समस्या वडा कार्यालय, नगरपालिका वा मालपोत कार्यालयबाट समाधान हुन नसक्ने बताएका थिए। उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयमा यस विषयमा पत्राचार गरिसकिएको जानकारी दिँदै आन्दोलनरत पक्षलाई संघीय तहमा थप पहल गर्न सुझाव दिएका थिए।
यसअघि शनिबार युवा, श्रम तथा रोजगारमन्त्री तथा सप्तरीका सांसद रामजी यादवले भिडियो कलमार्फत स्थानीय तहबाट समस्या समाधान सम्भव नरहेको जानकारी गराएका थिए। उनले भूमि सम्बन्धी समस्या समाधानका लागि हालै गठन गरिएको समितिसँग समन्वय भइसकेको बताउँदै काठमाडौं आएर संयुक्त छलफल गर्न आन्दोलनरत पक्षलाई आग्रह गरेका थिए।
आर्थिक वर्षको अन्त्यतिर नगरपालिका कार्यालयमा तालाबन्दी हुँदा दैनिक प्रशासनिक कामकाजसमेत प्रभावित भएको छ।