राजविराज–त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङबाट १० औं दिनमा उद्धार गरिएका सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–४, कुशहाका ३० वर्षीय सञ्जय साह उपचारपछि आइतबार घर फर्किएका छन् । ८ दिनको अस्पताल बसाईंपछि शुक्रबार साँझ उनी डिस्चार्ज भएका थिए । काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भएका उनी शुक्रबार राति काठमाडौंमै आफन्तको डेरामा बसेर शनिबार हाइस चढेर साँझ राजविराज आएका थिए । नेपाल विद्युत प्राधिकरणका मेकानिकल फोरम्यान रहेका उनी राति राजविराजकै आफन्तको घरमा बसेर आइतबार बिहान आफ्नो घर पुगेका हुन् । उनी १० दिनसम्म सुरुङमा खेपेका अप्ठ्यारा क्षण र कठिनाइका विषयमा केन्द्रीत रहेर मधेश लाइभका किरणकुमार जयसवाल (राजु)ले सञ्जय साहसँग गरेको कुराकानीको सम्पादित अंश :
अहिले तपाईको स्वास्थ्य अवस्था कस्तो छ ?
सबैको आर्शिवाद र भगवानको कृपाले म त्यहाँबाट बाँचेर सफलतापूर्वक अहिले घरसम्म आउन पाएको छु । सबैमा आभार व्यक्त गर्न चाहन्छु । अहिले मेरो स्वास्थ्य अवस्था ठिक छ । म घर फर्किदा सबै गाउँलेहरु भावुक भएर आउनुभयो । भेटघाट गर्नुभयो र अझै आइरहुभा’छ नै । सबैले स्वागत गर्नुहुन्छ । मलाई खुशी लागेको छ ।
अस्पतालबाट डिस्चार्ज भएर शनिबार साँझ राजविराज आउनुभयो । अनि, आइतबार बिहान आफ्नो जन्मथलो आउनुभयो । त्यस दिन (भदौ १०) बाढी आउँदा तपाई कुन अवस्थामा हुनुहुन्थ्यो? त्यस दिनलाई कसरी सम्झिनुहुन्छ ?
त्यो दिन त एकदम भयावह र अकल्पनीय रहेछ । त्यतिबेला चैं म ‘ड्युटी’ मा थिए । साथीहरु पनि ‘मेन्टिनेन्स्’का काम गरिराख्नुभएको थियो । सबै कुरा ‘नर्मल’ चलिरहेको थियो । अनि अचानक हामीलाई जानकारी आयो । धेरै समयअघि पनि होइन । ‘सर्टटाइम’मा हामीलाई जानकारी आयो की ठुलो बाढी आउँदैछ भनेर । हाम्रो दुई वटा ‘कन्ट्रोल रुम’ थियो । एउटाभित्र र अर्को जिआइएस, ‘ड्याम साइट’मा पनि छ । जिआइएसबाट मलाई फोन आएको थियो । बाढीका पूर्व तयारीको लागि हामीले यसअघि गर्दै आएको तयारी जस्तै सुरु गर्यो । विनोद पाण्डेसँग ‘पर्मिसन’ लिए, के गरौं सर ? उहाँले मेसिन बन्द गर्ने ‘प्रोसेज’ गरौं भनेपछि बन्द गरे । मेसिन बन्द गरेपछि ‘ड्याम साइट’लाई पनि जानकारी गराए । ‘ड्याम’को ढोका उठाउन नपाउँदै त्यहाँ बाढी आइसक्यो । एकैचोटी ठुलो बाढी प्रलयकारी रुपमा आयो ।
सुरुङभित्र बाढी पसिसकेपछि पहिलो चरणमा तपाईले कस्तो सावधानी अपनाउनु भयो वा अन्य के–के गर्नुभयो ?
बाढी आइसकेपछि सबैभन्दा पहिले म आफ्नो लागि केही पनि गरिन् । म कन्ट्रोल रुमबाट बाहिर निस्केर अरुलाई जानकारी र सचेत गराउने प्रयासमा लागिरहेँ । मलाई खासै तनाब भएको थिएन । किनकी, बाढीको सूचना आएको थियो । बाढी भनेको नर्मल बाढी नै होला सोचे । बाढी त कति आयो–गयो । त्यसलाई डर मान्नै पर्दैन जस्तो सोचे । ‘ड्याम’मा साथीहरु काममा हुनुहुन्थ्यो, पहिला उहाँहरुलाई जानकारी गराइदिइहालौं न, किन उहाँहरु अनभिज्ञ रहनुहुन्छन् । तल काम गर्नेहरु जोखिममा पर्न सक्ने सोचेरै जानकारी गराउनेतिरै लागे । कति जना निस्केर बाहिर पनि जानुभयो । कति जना निस्किने क्रममा सुरुङमा पनि हुनुहुन्थ्यो होला । अन्तिममा त कति जनालाई सुरुङको मुखसम्म पठाएर फेरी म फर्केर ‘कन्ट्रोल रुम’ पुगेँ । त्यहाँ क्यामेरा हेर्दाखेरी ‘ड्याम’बाट बाढी २ मिनेट नबित्दै साढे ४ किलोमिटर नजिकै खोलानिर आइसकेको देखेँ । बढी बाढी देखेर तलको सुरुङमा पस्नसक्ने अनुमान गरे । अनि ‘कन्ट्रोल रुम’बाट निस्किन थाले । त्यहीबेला अहिले अस्पतालमा उपचाररत रहनुभएका कबिर महर्जन सरसँग भेट भयो । भर्याङनजिकै भेट्नुभएको उहाँ र म एकअर्काको हात समातेर तलको बाटो नगई माथि ६ तल्लाको बाटो लागौं । त्यहाँ बढी अग्लो छ र पानी छिर्न सक्दैन भन्ने बुझाइ थियो । हामी माथि पुग्ने वितिकै हावाको ठुलो ‘प्रेसर’ आयो र पानी पनि आउन थाल्यो । एकैछिनमा बाढीले उतपात मच्चाउँदा एकअर्काको हात छुट्यो । मोवाइल पनि त्यही हरायो । त्यसपछि म कहाँ पुगे र उहाँ कहाँ पुग्नुभयो पत्तै पाइन । जाहाँसम्म मलाई बगाएर तल भर्याङमा पुर्याइदिएको जस्तो लाग्यो । त्यहाँ बालुवा थुप्रिन थालेको याद छ ।
सुरुङमा हुँदा दिन–रात बुझिन्थ्यो ?
केही पनि थाहा हुँदैन्थ्यो । दिनराति वा समय वितेको पनि थाहा हुँदैन्थ्यो । अँध्यारै–अँध्यारो । २/३ दिन त म त्यहीँ भेन्टिलेसनमाथि नै बसेँ । तल बाढी थियो । पछि सोच्न थाल्ने कति बस्नु यहाँ, बाहिर निस्किनुपर्छ । ‘प्यासेज’मा छाम्दै–छाम्दै भर्याङसम्म पुगे । जसरी त्यसरी त्यसैमा चढेर ६ तल्लासम्म पुगेँ । त्यहाँ चैं सुक्खा थियो । तर, भित्र छिर्ने ठाउँ थोरै थियो । जसरी त्यसरी त्यसभित्र छिरे ।
१० दिनसम्म त्यहाँ अत्यन्तै अप्ठ्यारो गरी बस्नुभयो । त्यहाँ बस्दाखेरी केही खानेकुरा वा पानीको अवस्था के थियो ?
खानेकुरा त केही पनि थिएन । त्यस सुरुङमा काम चलिरहेको थियो । पानी थोरै थियो, त्यो पनि धमिलो र मोबिल मिसिएको । सुरुमा त हातैले त्यही पानी खाए पनि । पछि गञ्जिले छानेर खान थाले । त्यहाँ बालुवामाथि काठ थियो । त्यही काठमाथि सुतेर–बसेर विताएँ ।
उद्धार भएको दिन तपाई कुन अवस्थामा हुनुहुन्थ्यो वा कसरी थाहा पाउनुभयो ?
म चैं भित्रै थिए । कसैले हल्ला गरेको त सुनिएको थिएन । तर, जेसीबीले माथि काम गरिरहेको थौरै आवाज आइरहेको थियो । सुरुङभित्र आर्मी पस्दाको बेला म सुतिरहेको थियो । कबिर सरभन्दा म तल थिए । उहाँलाई निकाल्न लाग्दा आर्मीले टर्च बालेपछि देखेँ । मैलेपनि हल्ला गरे, हल्लो… म यहाँ छु । हात हल्लाउँदै भन्दाखेरी उद्धार टोलीले देखेछ । अनि, मलाई हात तानेर उद्धार गर्नुभयो । उद्धार टोली र सरकारलाई धेरै-धेरै धन्यवाद छ । फसेका अन्यको उद्धार होस् । मलाई हात–खुट्टा र ढाडमा चोट लागेको छ तर गहिरो चोट छैन् । एउटा कुरा चैं भन्छु, जहिले पनि आशा बाँकी रहन्छ । जिन्दगीमा कहिले पनि हरेश खानु हुँदैन ।