किशोर दाई : सम्झनाको उज्यालोमा

जयप्रकाश आनन्द

जीवनमा केही यस्ता मानिसहरू हुन्छन्, जसले हामीलाई केवल साथ मात्र दिँदैनन्, हाम्रो सोच, दृष्टि र व्यक्तित्वको निर्माणमै गहिरो प्रभाव छोड्छन्। मेरा लागि किशोर नेपाल त्यस्तै व्यक्तित्व हुनुहुन्छ। पत्रकारिताको संसारमा उहाँ मेरो सम्पादक मात्र हुनु भएन, विचार निर्माणका एक महत्त्वपूर्ण गुरु र जीवन यात्राका आत्मीय सहयात्री पनि बन्नुभयो।

पछाडि फर्केर हेर्दा लाग्छ, मैले लेखेका अनेकौँ विवादास्पद र जोखिमपूर्ण सामग्रीको मूल्य धेरै पटक किशोर दाईले पनि चुकाउनु परेको थियो।

पञ्चायतकालको त्यो समय थियो। सगरमाथा अञ्चलका अञ्चलाधीश सूर्यबहादुर सेन ओलीका गतिविधिमाथि मैले देशान्तरमा “सगरमाथाको साँढे बौलायो” शीर्षकमा लेखेँ। लेख प्रकाशित भएपछि प्रहरी टोलीले राजधानी काठमांडौंमा पत्रिकाको कार्यालयमै धावा बोल्यो। लुक्दै छिप्दै रहेको म अन्ततः कटारीबाट पक्राउ परेँ। कृष्ण कुमार साह, जो आफुलाई नापीका अमीन भन्थे—जयप्रकाश आनन्द भनि पक्रिए।

त्यसपछि इरानका राजा शाह पहलवीको पतनबारे देशान्तरमा धारावाहिक लेखेँ। मेरो नियत इरानको कथा लेख्ने न भएको तथा राजतन्त्र उपर छद्म प्रहार गर्ने रहेको भनि त्यसको झोक पनि किशोर दाई र शिव अधिकारीले बेहोर्नुपर्‍यो। बागमती अञ्चलाधीशका कार्यालयहरूमा बयान दिनुपर्ने, स्पष्टीकरण दिनुपर्ने र अनावश्यक दुःख खेप्नुपर्ने अवस्था बारम्बार आयो।

पूर्वका पहाडी जिल्लाहरूमा पुगेर आदिवासी–जनजाति चेतनाको उदयबारे “तुवाँलोले ढाकेको बस्ती” शीर्षकमा लेखेँ। पाँचथर—इलामको सीमा नेरको पौवा खोला नै हो क्यार तेहाँ कुटाइ खाएँ, काठमाडौंमा त्यसको दबाब किशोर दाईमाथि पर्‍यो। वीर नेम्बाङ र गोपाल गुरुङजस्ता साथीहरूले समेत गम्भीर आपत्ति जनाए। म लेखिरहेँ, उहाँ सहिरहनुभयो। कहिलेकाहीँ मुस्कुराउँदै भन्नुहुन्थ्यो—
“मेरो पत्रकारितामा जेपीको पञ्चायतविरोधी मिसन पसेको छ।”

त्यो वाक्य आज पनि कानमा गुन्जिरहन्छ।
पहिलो जनआन्दोलनमा म “राज्यविरुद्धको अपराध” को अभियोगमा जेल परेँ। जेलबाट निस्कँदा बहुदल पुनःस्थापित भइसकेको थियो। ममाथिका निषेध र प्रतिबन्धहरू हटिसकेका थिए। त्यसपछि मैले राजनीति नै आफ्नो मूल कर्मक्षेत्र बनाउने निर्णय गरेँ।
किशोर दाईसँग बिदा लिन पुगेँ।

पत्रकारितामा म संयोगले आइपुगेको थिएँ, राजनीतिमा भने मेरो जरा थियो। २०४८ सालको आम निर्वाचनमा नेपाली काँग्रेसको उम्मेदवार बन्ने निर्णय गरेँ। त्यसबेला किशोर दाईले सुरूचीमा लेख्नुभयो—“जण्ड उदण्ड जेपी चुनावमा !”त्यो शीर्षकमा उहाँको स्नेह पनि थियो, ठट्टा पनि थियो, र विश्वास पनि।
हामी दुईजनाको जीवनयात्राले त्यसपछि फरक बाटो समात्यो। नुवाकोटको गाउँबाट उठेर प्रजातन्त्रका लागि जेल जीवन बिताएका किशोर दाई पत्रकारितामा रम्नुभयो, मानक बन्नु भयो। अमर शहीद सरोज कोइराला, नेता भीमबहादुर तामाङ, सुप्रसिद्ध दमननाथ ढुंगाना जस्ता व्यक्तित्वहरूको सान्निध्यले उहाँलाई त्यस दिशामा अझ मजबुत बनायो। म भने फेरि राजनीतितर्फ फर्किएँ।
तर बाटो फरक भए पनि सम्बन्ध कहिल्यै टाढा भएन।
आज उहाँको जन्मदिन मनाउन काठमाडौंमा मित्रहरू गुण कलोनी पुगे होलान्। म भने गाउँमै छु। उमेर बढ्दै जाँदा मानिस वर्तमानभन्दा सम्झनाहरूमा बढी बाँच्न थाल्छ जस्तो लाग्छ। जीवन आचार्य सम्झिन्छु, शिव अधिकारी सम्झिन्छु। झापाका मदन ढकाल सम्झिन्छु। धेरै अनुहारहरू अब हाम्रो बीचमा छैनन्, तर उनीहरूले छोडेका स्मृतिहरू अझै जीवन्त छन्।
यस्तै सम्झनाको यात्रामा दुई—तीन पुराना तस्वीरहरू भेटिए।
वि.सं. २०४५ सालको भूकम्पपछि उद्धार कार्यमा सहयोग गर्न मदर टेरेसा काठमाडौं आउनुभएको थियो। अनुराधा कोइरालाको पहलमा हामीले उहाँसँग भेट्ने र केहीबेर संवाद गर्ने दुर्लभ अवसर पाएका थियौँ। त्यो समूहमा किशोर दाई, शिव अधिकारी, श्रीकृष्ण अनुरुद्ध गौतम, समज्ञ लाकौल र म थियौँ। जीवनका अनगिन्ती तस्वीरहरूमध्ये त्यो एउटा तस्वीर मेरो लागि विशेष महत्वको छ, किनकि त्यसमा केवल अनुहारहरू छैनन्, एउटा युगको आत्मा कैद भएको छ।
आज किशोर दाईको जन्मदिनमा तीमध्ये कोही किशोर दाईको मा पुगे होलान, फोन गरे होलान,कोही केवल स्मृतिमा राखे होलान।
समयले धेरै कुरा फेरिदियो, तर केही सम्बन्धहरू समयभन्दा बलिया हुन्छन्। किशोर दाईसँगको मेरो सम्बन्ध त्यस्तै सम्बन्ध हो—सम्मान, स्नेह, विश्वास र साझा संघर्षले बनेको।
जन्मदिनको यस अवसरमा उहाँको सुस्वास्थ्य, दीर्घायु र निरन्तर सिर्जनशील जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु। 🙏🌷
किशोर दाई, तपाईंले केवल पत्रकारिता गर्नुभएन, हामीजस्ता धेरैको चेतना निर्माण गर्नुभयो।
जन्मदिनको हार्दिक शुभकामना।

लेखक जयप्रकाश आनन्द वरिष्ठ राजनीतिज्ञ हुन् । वौद्धिक नेताका रुपमा परिचित उनी राजनीतिक तथा समसामयिक विषयमा कलम चलाउँछन् । सं.

Author:



क्याटोगरी छान्‍नुहोस