सप्तरीमा कोरोनामै खर्चियो सवा तीन करोड, कसले कति पाए? [खुलासा]

राजविराज, १७ साउन । यतिबेला देशभरमा चर्चाको विषय बनेको छ राजविराजस्थित साईकृष्णा अस्पतालमा रहेको आइसोलेसनको दर्दनाक अवस्था ।

कोरोना संक्रमणको पुष्टि भईसकेपछि जहाँ सुरक्षितमा रुपमा चिकित्सकको निगरानीमा राख्नकालागि संक्रमितलाई राखिन्छ । आइसोलेसन पूर्ण रुपमा सुरक्षित हुनुपर्नेमा त्यहाँको आइसोलेसनको अवस्था हेर्दाखेरी स्वस्थ्य व्यक्ति पनि विरामी पर्ने अवस्था रहेको छ । राजविराज नगरपालिकाका एक संक्रमित युवाले सामाजिक सञ्जालमार्फत लाइभ गरेपछि आइसोलेसनको वास्तविकता सार्वजनिक भएको हो ।

आइसोलेसनमा हेर्नै नसक्ने शौचालयको अवस्था, फोहोरको डङ्गुर, संक्रमितकालागि राखिएको बेड, सरसफाईका साथै खानपीनको अवस्थाबारे छताछुल्ल भएको छ । आइसोलेसनको यस्तो अवस्था हेर्दा मानव बस्ने खालको नरहेको नागरिक समाजका अध्यक्ष थानसिह भन्साली बताउँछन् । आइसोलेसनभित्र मिडियाकर्मी वा समाजका सचेतवर्गको प्रवेश नरहेकाले वाध्यात्मक अवस्थाले गर्दा धेरै भित्री कुराहरु बहिर आउन नसकेकोले यस्ता समवेदनशिल विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको सुझाव छ ।

एक–अर्कामाथि दोषारोपण

राजविराजको गजेन्द्रनारायण अस्पतालको मातहतमा रहेको हाल १ सय ७८ शैय्याको आइसोलेसनको अवस्थाबारे सार्वजनिक भएपछि सरोकारवाला निकायले एकअर्कामाथि दोषारोपण गर्दै आएको छ । आइसोलेसनका अवस्था अत्यन्तै जर्जर हुनुमा सम्वन्धित निकायका व्यक्तिहरु जिम्मेवार बन्नुपर्नेमा पन्छिदैआएका छन् ।

आइसोलेसन अत्यन्तै असुरक्षित र त्यहाँ अभावै अभाव रहेको विषयमा गजेन्द्रनारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजित कुमार झाले आफुले भ्याएसम्मको व्यवस्थापन गर्दैआएको बताए । आइसोलेसनको व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको र सोही अनुसार आइसोलेसन निर्माण एवम् व्यवस्थापन गरेको जानकारी दिँदै डा. झाले भने ‘आइसोलेसनमा विरामीको बेडदेखि चाहिने आवश्यक सामग्रीको व्यवस्थापन नेपाली सेनाले गरेको छ, हामीले खाना तथा स्वास्थ्य सेवा पुर्याउँदै आएका छौं, जहाँसम्म रह्यो शौचालयको कुरा वर्षाभएपछि पानी निकासकालागि ड्रेन नरहेकोले समस्या देखिएकै हो, त्यसको व्यवस्थापन विगतमा पनि गरेका थियो र अहिले पनि गर्दैछौं ।’

आइसोलेसनमा रहेका संक्रमितहरुबाट दैनिक रुपमा हुने फोहोर कमसेकम उनीहरुले डस्टविनमा राखिदिनुपर्ने तथा आफ्नो बेड वरपर सफा गरिदिनुपर्ने दायित्व रहे पनि जिम्मेवारी नबुझिदिने गरेको तथा अति सम्वेदनशिल स्थल भएकोले सरसफाई कर्मचारीहरु समेत बेडबेडमा गएर सफा गर्न नमानेको डा. झाको भनाइ छ । अस्पतालमा त्यसै कर्मचारी अभाव रहेकोले क्षमताभन्दा पनि खट्नुपर्ने अवस्था रहेको उनले बताए ।

यता आइसोलेसनको अवस्थाको विषयमा आनन्द ठाकुरले आइसोलेसनको अवस्थाप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको तथा त्यसको अवस्था अविलम्व सुधार गर्न सरोकाराला निकायलाई जानकारी गराएको बताए । कोरोना महामारीको अवस्थामा चाहेर पनि सबैथोक पुरा गर्नसक्ने अवस्था नरहेकोले हामी आफु पनि जिम्मेवार बन्नुपर्ने उनका भनाइ छ ।

कोरोना व्यवस्थापनमा कति रकम खर्चियो ?

नेपाल सरकारले देशैभरी लकडाउन घोषणा गरेको एक सातापछि अर्थात चैत्रको दोस्रो साता प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रणकालागि ५० लाख रुपैयाँ सप्तरीको विपद् व्यवस्थापन कोषमा पठाएको थियो । मुख्यमन्त्री लालबाबु राउतले आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बोलाएर अवस्थाबारे जानकारी लिँदै आफुले पठाएको रकम खर्च गरी आवश्यक परे थप रकम माग गर्न निर्देशन दिएका थिए । त्यसपछि विपद् व्यवस्थापन समितिको बैठक बसेर रकम बाँडफाँट गरिएको थियो ।

समितिले नेपाली सेनाको भीम दल गण ७ लाख, जिल्ला प्रहरी कार्यालय ७ लाख, सशस्त्र प्रहरी ६ नम्वर गण राजविराज ७ लाख, प्रदेश प्रहरी तालिम केन्द्र २ लाख, सशस्त्र प्रहरी नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय बरमझिया २ लाख, राष्ट्रिय अनुसन्धान १ लाख, गजेन्द्रनारायण सिंह अस्पताल १ लाख र स्वास्थ्य कार्यालय एक लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

कोरोना व्यवस्थापनकालागि समितिमा रहेका सरोकारवाला निकायलाई कुल २८ लाख रुपैयाँ उपलब्ध गराएको थियो । बाँकी २२ लाख रुपैयाँमध्ये जिल्ला प्रशासन कार्यालयले खर्च गरेको तथा बाँकी रकम कोषमै रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरले जानकारी दिएका छन् ।

यी त भए प्रदेश सरकारले विपद् व्यवस्थापन समितिमा पठाएको ५० लाखको प्रसङ्ग । यस अतिरिक्त प्रदेश सरकारले नेपाली सेनाको पृतना कार्यालयलाई एक करोड रुपैयाँ उपलब्ध गराएको थियो । उक्त रकममध्ये सप्तरीमा आइसोलेसन व्यवस्थापनकालागि राजविराज स्थित नेपाली सेनाको भीम दल गणलाई ५० लाख रुपैयाँ पठाएको थियो । उक्त रकमबाट नेपाली सेनाले साइकृष्णा अस्पतालको व्यवस्थापन गरेका छन् ।

उक्त अस्पतालमा सेनाले तन्ना, तकिया, ब्ल्यांकेट, बाल्टिन, डस्टविन, विद्युत, शौचालय सरसफाई लगायतमा उक्त रकम खर्चेको जनाईएको छ । नेपाली सेनाले रकम अभाव देखाएपछि पुनः सामाजिक विकास मन्त्री नवलकिशोर साहले २५ लाख रुपैयाँ उपलब्ध गराएका थिए । यद्यपी आइसोलेसनको दुरावस्थाबारे पटक पटक विभिन्न सञ्चारमाध्यममा आलोचना हुँदैआएको छ ।

यसका साथै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गजेन्द्रनारायण सिह अस्पतालमा कोभिड १९ पिसिआर परीक्षण प्रयोेगशाला सञ्चालनकालागि ५० लाख, प्रयोगशाला व्यवस्थापनकालागि १० लाख र विपद् व्यवस्थापन समितिबाट अस्पतालले १ लाख समेत गरी ६१ लाख रुपैयाँ प्राप्त गरेको अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजित कुमार झाले जानकारी दिए ।

उनका अनुसार संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अस्पताललाई र प्रयोगशालालाई आवश्यक सामान खरिद एवम् व्यवस्थापन गर्न मोटो रकम दुई पटक ६७ लाख र ५० लाख पठाएको छ । यस अतिरिक्त अन्य साना रकमहरु समेत रहेको डा. झाले बताए । हालसम्म गजेन्द्रनारायण सिंह अस्पताललाई करिब दुई करोड प्राप्त गरिसकेको छ ।

पछिल्लो पटक मुख्यमन्त्री लालबाबु राउतसहित विभागीय मन्त्री नवलकिशोर साहको टोलीले साउन १२ गते सप्तरीमा कोरोना भाइरसको अवस्था तथा तयारीबारे जानकारी लिएर फर्किएका थिए । मुख्यमन्त्री राउतले सप्तरीका सरोकारवाला निकायका प्रमुखहरुलाई कोरोना भाइरसको नियन्त्रण तथा रोकथामलाई प्राथमिकतामा राख्न निर्देशन दिँदै आवश्यक रकम प्रदेश सरकारले व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

तीन दिन पनि वित्न नपाउँदै विहीबार मुख्यमन्त्री राउतले कोरोना संक्रमण न्युनिकरण एवम् व्यवस्थापनकालागि ७५ लाख रुपैयाँ पठाएका छन् । यद्यपी जिल्लामा आइसोलेसन व्यववस्थापन तथा पिसिआर परीक्षणको दायरा भने बढ्न सकेको छैन ।

Author:



क्याटोगरी छान्‍नुहोस