राजा वीरेन्द्रले चढ्ने ‘एभ्रो विमान’ नारायणहिटी लगियो

जनकपुरधाम । त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको ‘एभ्रो विमान’लाई नारायणहिटी दरवारको संग्रहालयमा राख्न लगिएको छ । आज साँझ उक्त विमानलाई सडकबाट गुडाएर नारायणहिटी लगिएको हो ।

विमानको पखेटा निकालिएको थियो भने अगाडीबाट गाडीले तानेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा जहाज संग्रहालयमा राखिन लागिएको हो ।

नेपाली सेनाका अनुसार सन् १९७१ मा ४६ सिटे उक्त जहाज बेलायतबाट नेपाल ल्याइएको थियो । राजपरिवार र नेपाली सेनाको विशिष्ट तालिममा जहाज प्रयोग भएको थियो । दुई वर्षदेखि प्रयोग गर्न नमिल्ने भएपछि सर्वसाधरणको अवलोकनका लागि संग्रहालयमा राख्ने प्रक्रिया थालिएको थियो ।

सो जहाज राजा वीरेन्द्रले २०३१ सालताका राज्याभिषेकका बेलामा प्रयोग गरेका थिए । सरकारको निर्णयअनुसार जहाजलाई नारायणहिटी संग्रहालयको प्रदर्शनीमा राख्नका लागि लगिएको नारायणहिटी दरवार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस