मुलुकको अधिकांश स्थानमा आज पनि वर्षा, बाढी-पहिरोको जोखिम 

२०७७ असोज ८ गते
जनकपुरधाम । न्यून चापीय रेखाको प्रभावले मौसममा देखिएको खराबीका कारण केही दिनदेखि निरन्तर झरी परिरहेको छ । भारतको मध्य प्रदेशको पूर्वी भु–भागमा न्युन चापीय क्षेत्र रहेको तथा सो न्युन चापीय क्षेत्र उत्तर–पूर्व सर्दै गरेको जल तथ मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार सोही न्यूनचापीय रेखाको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली भएर अधिकांश स्थानहरुमा वर्षा भइरहेको छ । विभागले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षा भइरहेको जनाएको छ ।

अविरल वर्षाका कारण कतिपय स्थानमा बाढी–पहिरोको समेत जोखिम रहेको बताइएको छ । आज (बिहीबार) दिनभरजसो नै देशभर सामान्यदेखि पुर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

विभाग सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बिहीबार राति पनि देशभर सामान्यदेखि पुर्णतया बदली रही धेरै स्थानहरूमा हल्का तथा मध्यम वर्षा हुने सम्भावना छ भने सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस