आफ्नै घरमा फेला परेकी बालिकाको हत्या भएको पुष्टि

सुनसरी, ११ असोज । सुनसरीको बराहक्षेत्र वडा नम्वर १ कटहरे स्थितमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी १२ बर्षीया एक बालिकाको हत्या भएको पुष्टि भएको छ ।

शनिवार राती २ बजेको समयमा १२ बर्षीया मिना राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिईन् । छिमेकीको घरमा धामी लगाई सकेर विहानको २ बजे राती घर फर्केका परिवार ढोका खोलेर भित्र पस्दा आफ्नो छोरी मिना राईलाई मृत अवस्थामा देखेर प्रहरीलाइ खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतक बालिकाको शव शंकास्पद देखिएपछि गहन अनुसन्धान शुरु गरेको थियो । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट डग सहितको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेको थियो ।

अनुसन्धानमा खटिएको प्रहरी टोलीले मिनाको हत्या भएको पुष्टि गरेसँगै उनको हत्यामा संलग्न सोही स्थानका १५ बर्षीय बालकलाई २४ घण्टा भित्रै पक्राउ गरेको छ । घरमा बालिका मात्र एक्लै रहेको अवस्थामा राती १० बजे तिर १५ बर्षीय बालक चटपटे खान भनि गएको अवस्थामा उनीहरु बिच विवाद हुँदा ती बालकले मिनालाइ सिसाको बोतलले टाउँकोमा प्रहार गरी भेष्ट र रुमालले घाँटीमा कसेर उनको हत्या गरी आफु आफ्नै घरमा गएर सुतेको उनीमाथि गरिएको सोधपुछका क्रममा खुल्न आएको छ । घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस