वैदेशिक रोजगारीमा पाँच वर्षअघि हात खुट्टाको औंला गुमाए, अझै उपचार हुन सकेन

लहान । ‘पहिला जस्तै हिंडडुल गर्ने सपना छ तर ती सारा सपना मनभित्र गुम्सिएर बसेको छु, खै? यो जूनीमा त्यो सम्भव हुन्छ जस्तो लागेकै छैन्’ वैदेशिक रोजगारको क्रममा अपाङ्गता भएका सिरहाको गोलबजार नगरपालिका–९ का २६ वर्षीय संजय मोची भन्छन्–‘परिवारको सहारा त बन्न सकिन्, अहिले आफ्नै जीवन बोझ लाग्न थालेको छ ।’

आर्थिक अभावका कारण परिवारको गुजारा नै कष्टकर बन्न थालेपछि कक्षा १० को पढाईलाई अधुरो छोडेर संजयले सन् २०१५ मा वैदेशिक रोजगारकोलागि कतार पुगे । लेबरको भिषामा कतार पुगेका उनी क्यूबीसी कम्पनीमा काम सुरु गरे । दुई महिनासम्म काम गरे पनि ।

सोही क्रममा संजय विरामी परे । ज्वरोले सताएपछि उनलाई कम्पनीले उपचारकोलागि दोहास्थित अहमद अस्पतालमा भर्ना गरे । त्यहाँ दुई महिनासम्म आईसियुमा राखेर उनको उपचार पनि भयो ।

संजयको सम्झनामा अझै पनि ताजा नै छ ती घटना, ‘दुई महिनाको उपचारपछि मलाई होस पल्टियो र त्यसपछि म आफ्नो शरीर नियाल्न थाले । हात खुट्टामा नजर गएपछि मेरो हात र खुट्टाको औंला नै छैन्, म अवाक भए ।’

आईसियुमा राखेर उपचार गराउँदा औंलाहरु कुहेर झरेको डाक्टरले भनेको कुरा उनी अहिले पनि सम्झिन्छन् । स्वदेश फर्केको करिब ५ वर्ष भएको छ । घाउ अझै निको भइसकेको छैन् । उनी थप्छन् ‘गरिबी जीवन छ । कसैले मेरो कृत्रिम हातखुट्टा लगाएर हिंड्ने बनाइदिए म उहाँलाई भगवान ठान्नेछु ।’
बुवाआमाका एकलो छोरा उनी यतिबेला पुरै परिवार उसको दुःखमा झुन्डिएका छन् । पुस्तौंदेखि बसोबास गरेको एलानी जग्गा मात्र छन् परिवारसँग । कम्पनीले फर्किनेबेला तीन लाख दियो ।

ती पैसा पनि उपचारमै सकिएको उनले बताए । सरकारले मासिक ३ हजार पाउने अपाङ्गता भत्ता बाहेक थप कुनै पनि सुविधा नपाएको उनको दुखेसो छ ।

इच्छा हुँदाहुँदै पनि आर्थिक अभावले छोराको उपचार गराउन नसकिएको संजयकी आमा रुन्चीदेवीले बताइन् । ‘गाउँमा ऋण, सापटी पनि कसैले दिदैन् । छोराको थप उपचार कसरी गर्नु ? छोराको मुख हेरेर बस्नु परेको छ ।’

चमार कल्याण समाजद्वारा नगद सहयोग

चमार कल्याण समाजले बुधवार २० हजार रुपैयाँ सहयोग गरेको छ । विभिन्न देशमा रहेका चमार समुदायका अगुवाहरुबाट जम्मा गरिएको सो रकम सहयोग गरिएको हो ।

संजयका परिवारलाई एउटा बाख्रा पनि सहयोग गरिएको सुरेन्द्र महराले जानकारी दिए । उनको उपचारकोलागि समाजले थप पहल गर्ने जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथि राजेश विद्रोहीले सो रकम हस्तान्तरण गरेका छन् ।सैनी मोचीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा चमार कल्याण समाजका उपाध्यक्ष उचित महरा, कोषाध्यक्ष सुरेन्द्र महरा, अर्जुन महरा, सतो महरा, जितकुमार महरा, सैनिक महरा, शिवनारायण महरा, निश्चल महरा, संजय साह लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस