राजविराजमा उपभोक्ता ठगिएको ठगियै !

राजविराज । सप्तरी सदरमुकाम राजविराजमा व्यवसायीहरुले म्याद नाघेका उपभोग्य वस्तुहरु विक्री गर्ने गरेको पाइएको छ । जिल्ला बजार अनुमगन समितीले केही दिनदेखि सुरु गरेको अनुगमनको क्रममा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुको विक्री, मूल्यसूची नभएको र कोरोना महामारी बेला पनि स्वास्थ्य सतर्कता विना नै व्यवसायीहरुले सरसमानहरु विक्री भइरहेको पाइएको हो ।

‘कोरोना संक्रमणको सतर्कता, चाडपर्व नजिकिदैँ गर्दा अखाद्य वस्तुको विक्री र कालाबजारी हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै बजार अनुगमन कार्यलाई तीव्रता पारिएको छ’ सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले भने–‘सोही क्रममा केही म्याद नाघेका उपभोग्य वस्तुहरु विक्री, मुल्यसूची नराखि सरसमान विक्री र स्वास्थ्य सतर्कताको ख्याल नगरी सरसमान विक्री गर्ने गरेको पनि पाइएको छ ।’

राजविराजस्थित माँ दुर्गे ट्रेडर्स, नागमणी किराना पसल, लाल ट्रेडर्स, इब्राहम स्टोर्स, हक जनरल स्टोर्स, कोकाइ साह गोपाल साह ट्रेडर्स लगायत पसलहरुमा अनुगमन गरिएको छ । ‘दुर्गे ट्रेडर्समा तीन दर्जन म्याद गुज्रिएको पेय पदार्थ पाइएको छ’ उनले भने–‘र, अधिकांश पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, र कोरोनाबाट बच्न सतर्कता अपनाएको छैन् ।’

अनुगमन टोलीद्वारा अखाद्य वस्तु नष्ट गरिदैँ ।

बरामद गरिएका अखाद्य बस्तुलाई ‘अन द स्पट’मै नष्ट गरिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको नेतृत्वको संयुक्त बजार अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंह, उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ता, सप्तरी उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिसहितको उपस्थिती थियो ।

‘वर्षेनि चाडबाडको बेला चर्चाकालागि मात्रै अनुगमन हुन्छ’

‘मूल्य तथा गुणस्तर लगायतबारे नियमित बजार अनुगमन हुनुपर्दछ’ नागरिक सञ्जालका अध्यक्ष सुखराम यादवले भने–‘तर चाडबाड बाहेकका समयमा बजार अनुगमन भएको देखिएकै छैन् ।’ वर्षेनि चाडबाडको बेला चर्चाकालागि मात्रै अनुगमन हुने गरेको उनको आरोप छ ।

‘अनुगमन भएपछि अखाद्य वस्तु फेला परेको पटक पटक सुने । तर, त्यस्ता कार्यमा संलग्न व्यवसायीलाई कारवाही भने गरिदैन्’ उनले भने–‘समान्य चेतावनी दिएर छाडने गरेका कारण व्यवसायीहरुको मनोबल झन बढेको देखिन्छ ।’

करिब ६ महिनाको बन्दाबन्दी (लकडाउन) पछि बजार खुलेकाले अहिले बढी अखाद्य वस्तुको विक्री हुने सम्भावना रहेकोले नियमति अनुगमन बजार अनुगमन हुनुपर्नेमा उनले जोड दिए । साथै व्यवसायीहरुले कोरोनाको सतर्कता अपनाइएको छ वा छैन् विषयमा पनि ध्यान पुर्याउनु जरुरी रहेको उनको भनाई छ ।

‘अब नियमित बजार अनुगमन हुन्छ’

‘पछिल्लो समय कोरोना संक्रमणको त्रास र वन्दाबन्दीका कारण बजार अनुगमन गर्न सकिएन्’ सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भने–‘विगतका दिनभन्दा पनि अब नियमित बजार अनुगमन हुन्छ, मौसमी हुँदैन’

उनले पहिलो चरणमा अखाद्य वस्तु पाइएका व्यवसायीलाई चेतावनी दिएर छाडिएपनि दोश्रो चरणमा पनि त्यस्तो पाइए तत्कालै कारवाही गरिने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस