सप्तरीको बनौलीमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु, दुई घाइते

राजविराज, २९ असोज । सप्तरीको खडक नगरपालिका वडा नम्वर ११ बनौली स्थित पूर्व पश्चिम हुलाकी सडकमा विहीबार साँझ मोटरसाइकल दुर्घटनामा परी दुई जना युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका वडा नम्वर १० बनौलीका ३० वर्षिय हकिम राइन र खडक नगरपालिकाका वडा नम्वर ११ बिसहरियाका २९ वर्षिय नरेश साह रहेका छन् ।

उनीहरु दुवैजनाको बोदेवर्साइन स्थित जिवनदीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ गईरहेको स ८ प ८४८१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्रदेश २–०१००१ त ३७०१ नम्वरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो । मृतक हकिम स ८ प ८४८१ नम्बरको मोटरसाइकल चालक थिए ।

उक्त मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका वडा नम्वर १० बनौलीका २२ वर्षिय गुड्डु अन्सारी गम्भीर घाइते भएका छन् । यसैगरी अर्का मृतक खडक नगरपालिकाका वडा नम्वर ११ बिसहरिया निवासी साह प्रदेश २–०१००१ त ३७०१ नम्वरको मोटरसाइकलका चालक हुन् ।

उक्त मोटरसाइकलमा पछाडी सवार उनकी २६ वर्षिय पत्नी सुनिता साह गम्भीर घाइते भएकी छिन् । घाइतेहरुको उपचारकालागि बिरागटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस