वडादशैंको पूर्व सन्ध्यामा पनि प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ सुनसान

राजविराज, ३० असोज । वडादशैंको पूर्व सन्ध्यामा पनि सप्तरीस्थित मुलुककै प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी भगवती शक्तिपीठ सुनसान देखिएको छ । पछिल्लो वर्षहरुमा यस समयमा भरिभराउ रहने शक्तिपीठ कोरोना भाइरस संक्रमणको त्रासले सुनसान बनेको छ ।

शक्तिपीठमा फूलहाइस (भाकल) गराए सन्तान प्राप्तिका साथै मनोवाञ्छित फल प्राप्ति हुने जनविश्वास रहिआएको छ । संकटपूर्ण अवस्थामा माता सखडेश्वरीको स्मरणले मात्र सहायता प्राप्त हुने आस्थाले शक्तिपीठमा नेपालभरिकासाथै भारतको विहारदेखि नयाँ दिल्लीसम्मका भक्तजनहरु दर्शन र पुजापाठकालागि आउने गर्छन् ।

भाकल पुरा भएपछि विशेष पुजापाठको बेला अर्थात वडादशैंमा पुनःआएर खशी र बोका बलि चढाउनुपर्ने परम्पराअनुसार वर्षेनी वडादशैं अघि मन्दिरमा भिडभाड हुने गर्छन् । तर, यस वर्ष भने कोरोना संक्रमणको त्रासले अझैसम्म मन्दिर सुनसान छ ।

‘गत वर्ष वडादशैंको एक महिनाअघि देखि नै हजारौं श्रद्धालुले दर्शन तथा पुजापाठ गरिसकेका थिए, तर यस वर्ष भने श्रद्धालुहरु ज्यादै कम आउने गरेका छन’ शक्तिपीठका पीठाधिस महाकान्त ठाकुरले भने–‘कोरोनाको त्रासले पनि श्रद्धालुहरुको आवागमण कम भएको हुनसक्छ ।’

मन्दिर समितीका कार्यवाहक अध्यक्ष समेत रहका पीठाधिस ठाकुरले यसपालीको वडादशैंमा कोरोनाबाट जोगिएर पुजापाठ एवम् दर्शनको व्यवस्था गरिएको बताए ।

‘यसपालीको वडादशैंमा कोरोना संक्रमणको अवस्था देखिएकोले जोगिएर पुजापाठ एवम् दर्शन गर्नकालागि विशेष स्वास्थ्य सतर्कता अपनाइएको छ’ उनले भने–‘जसकालागि मन्दिर परिसरमा सामाजिक दुरी, मास्कको प्रयोग र स्यानिटाइजर अनिवार्य गरिएको छ ।’

उनले दर्शन एवम् पुजापाठकालागि आउने श्रद्धालुहरुलाई अनिवार्य रुपमा मास्कको प्रयोग गरेर आउन तथा सामाजिक दुरी कायम गरेर पुजापाठन गर्न आग्रह गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस