सप्तरीमा पहिलो पटक ब्राउन सुगरसहित दुई जना पक्राउ

राजविराज, ०२ कार्तिक । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्वर ५ बक्धुवा क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कञ्चनरुप नगरपालिकाबाट खटिएको प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ७ का १९ वर्षिय निरज शर्मा र सोही ठाउँका २७ वर्षिय भरत शर्मालाई पक्राउ गरेको हो । महदेवा गाउँबाट महुलीतर्फ गईरहेको स ७ प १६५ नम्वरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दै उनीहरुको साथबाट पाँच पोकामा प्याक गरिएको पचास ग्राम ब्राउन सुगर, दुई थान मोबाइल, नगद ६ हजार ९ सय बरामद गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिएका छन् । उनीहरु दुवैजना दाजुभाइ रहेको खुलेको छ ।

पक्राउ परेका दुवै जनाले भारतको सुपौल जिल्लाको कुनौली नाकाबाट ब्राउन भित्र्याएर काठमाण्डौसम्म पुर्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको आइतवार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताएका छन् ।

सप्तरीकै इतिहासमा पहिलो पटक ब्राउन सुगर बरामद गरिएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस