सुडानस्थित युनामिड मिसनमा जाने १८० प्रहरीलाई आईजीपी थापाद्वारा बिदाई

जनकपुरधाम, १४ कार्तिक । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपीयू) को रुपमा डार्फर, सुडानस्थित युनामिड मिसन १७ औं समूहमा जाने प्रहरी कर्मचारीहरुलाई शुक्रवार आयोजित एक कार्यक्रमका बीच बिदाई गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले समूहका कन्टिनजेन्ट कमाण्डर प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाई गरेका छन् । महानिरीक्षक थापाले मिसनमा छनौट भई प्रशिक्षण कार्यमा समेत सफल भएका प्रहरीलाई वधाई तथा शुभकामना दिए ।

परिस्थितिमा आएको परिवर्तन र गतिशिलतालाई ध्यानमा राखी एफपीयू छनौट मापदण्डलाई हालै अद्यावधिक गरिएको र अद्यावधिक मापदण्ड प्रहरी कर्मचारीको वृत्ति विकासको निम्ति थप लाभदायक हुने विश्वास आईजीपी थापाले व्यक्त गरे । संयुक्त राष्ट्रसंघीय मिसनमा खटिने प्रहरी कर्मचारी देश र संगठनको प्रतिनिधिको रुपमा रहने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापाले भने, ‘विदेशमा रहँदा तपाईं व्यक्ति र संगठन मात्र होइन, एउटा मुलुक पनि हो भन्ने कुरा तपाईंको आत्मामा रहनु पर्दछ ।’

मिसनमा खटिने प्रहरी कर्मचारी राष्ट्रकै प्रतिनिधि भएकोले मर्यादित आचरण र अनुशासित हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले यूएनको मापदण्ड अनुसार व्यावसायिकता प्रदर्शन गरी दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।

कार्यक्रममा मिसन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय यूएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्र कुमार बस्यालले समूहमा एक जना प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक ४, प्रहरी निरीक्षक ७, प्रहरी नायव निरीक्षक २४, प्रहरी सहायक निरीक्षक १७, प्रहरी हवल्दार ५५, प्रहरी जवान ६५ र प्रहरी कार्यालय सहयोगी ७ जना गरी जम्मा १ सय ८० जना रहेको जानकारी दिए ।

मिसनमा खटिएका प्रहरी कर्मचारीहरु दुई समूहमा गरी २०७७ कात्तिक १७ र मंसिर ११ गते त्यसतर्फ प्रस्थान गर्ने उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780