‘कोभिड १९ को उपचारमा जडिबुटीको प्रयोग प्रभावकारी’

राजविराज, १४ कार्तिक । आफ्नै घर वरपर पाईने जडिबुटीको प्रयोगले कोरोना जस्तो रोगलाई समेत निको पार्न सकिने भएकोले यसको प्रचार–प्रसार हुनुपर्नेमा एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र राजविराजले शुक्रवार आयोजना गरेको जिल्लास्तरीय समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् । जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले आयुर्वेद चिकित्सा पद्धतीको महत्व वर्तमान अवस्थामा बढ्दै गएकोले यस विषयमा आयुर्वेद स्वास्थ्य केन्द्रले जनसमुदायसम्म जनचेतना जगाउनुपर्नेमा जोड दिए ।

राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले सरकारको लगानीमा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्रहरुले थप जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले विगतमा अंग्रेजी औषधीहरुको प्रचलन नहुँदा आयुर्वेदिक औषधीबाटै विभिन्न रोगहरुको उपचार हुने गरेको चर्चा गर्दै वर्तमानमा यसको महत्व अझैं बढेको बताए । आयुर्वेदिक औषधी एवम् जडिबुटीहरुको समुचित प्रयोगबारे आयुर्वेद स्वास्थ्य केन्द्र मार्फत प्रचार प्रसार हुनुपर्नेमा उनले जोड दिए ।
आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. शिवशंकर यादवले कोभिड १९ महामारीको उपचारकालागि कुनै उपयुक्त औषधी उपलब्ध नरहेको अवस्थामा अश्वगन्धाले काम गर्ने गरेको बताए । भारत तथा नेपालमा यसको प्रयोग व्यापक रुपमा बढेको जानकारी दिँदै उनले भने ‘स्थानीय सरकारबाट सामान्य सहयोग भए मालझुमना आयुर्वेद औषधालय लगायतले अश्वगन्धाको खेती गर्न सकिन्छ, आयुर्वेदिक औषधी तथा जडिबुटीको प्रयोगले ठूला रोगहरुको उपचार तथा निदान गर्न सकिने डा. यादवले बताए ।

उद्घाटन कार्यक्रममा वडा अध्यक्षहरु ईजहारुल मियाँ, ललित प्रसाद सिंह, हरेकृष्ण महतो, अनिरुद्ध प्रसाद यादव, तेजनारायण यादव, रुन्दीलाल मण्डल लगायतले आयुर्वेद औषधालयको विषयमा सुझावसहितको मन्तब्य व्यक्त गरे । कार्यक्रम सञ्चालन जितेन्द्र प्रसाद यादव तथा स्वागत मन्तव्य कपिलदेव साहले व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस