जसपा अध्यक्ष यादव भन्छन् ‘संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र भईरहेको छ’

जनकपुरधाम, २५ कार्तिक । जनता समाजवादी पार्टी नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र भईरहेको आरोप लगाएका छन ।

जसपा निकट युवा संघले मङ्गलवार जनकपुरधाममा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् । नेपालको संविधानले अपरवर्तनीय रुपमा राखेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सरकारले चुनौैती दिने चेष्टा गरेको उनले तर्क गरे ।

देश कोरोना महामारीको संकट झेलिरहेको समयमा सरकारको मुख्य कर्तव्य जनताको ज्यानको सुरक्षा हुनु पर्ने सरकार त्यस बाट विमुख भई अन्य चलखेलमा लाग्नु मुलुकको लागी दुर्भाग्य रहेको बताए । जनताको जिउ धनको सुरक्षा गर्न नसक्ने सरकारको आवश्यकता नरहेको तर्क गरे ।

आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै विभेद रहित समृद्ध मुलुकको निर्माणका लागि वैकल्पिक शक्तिको रुपमा जसपाको गठन भएको अध्यक्ष यादवले बताए । विश्वको हरेक परिवर्तनको नेतृत्व युवाहरुले नै गरेको उल्लेख गर्दै उनले मुलुकको विकास र समृद्धिको लागि शिक्षित र सक्षम युवाहरुलाई अगाडी बढन आग्रह गरे ।

समाजवादी युवा संघका जिल्ला अध्यक्ष दिपेन्द्र कापडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा युवाका संघका केन्द्रिय अध्यक्ष योगेन्द्र राय यादव, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह, बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र कुमार यादव सहितका वक्ताहरुले सम्बोधन गरे ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका करिब तीन सय युवाहरुलाई प्रमुख अतिथि यादवले पार्टीमा स्वागत गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस