तिलाठी कोइलाडीका किसानको धान काट्न खेतमै पुग्यो सरकार

राजविराज, २६ कार्तिक । धानबाली भित्र्याउन मजदूर अभाव रहेको अवस्थामा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले किसानको धानबाली निःशुल्क काट्न शुरु गरेका छन् ।

गाउँपालिकाले चार वटा ट्रयाक्टर खरिद गरी त्यसमा चार ओटा रिपर मेसिन जडान गरी मङ्गलवारदेखि किसानको धान काट्न शुरु गरेको हो । गाउँपालिकाको वडा नम्वर ६ बाट धान काट्ने कार्य थालिएको छ ।

धान काट्नकालागि प्रयोग हुने उक्त मेसिन आवश्यकता अनुसार सम्पूर्ण वडा पुगेर किसानको धान काटिने गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् । उनका अनुसार एक दिनमा एउटा ट्रयाक्टरबाट करिब पच्चीस तीस बिघासम्म धानबाली काट्न सकिनेछ । मजदूर अभावले गर्दा किसानलाई धानबाली काट्न धेरै समय लाग्ने भएकोले गहुँ, तोरी, मसुरो, बदाम, सस्र्यु ईत्यादी नयाँ बाली लगाउन समेत ढिलो हुने भएकोले कृषि कार्यमा सघाउनकालागि धान काट्न प्रविधिको प्रयोग गरिएको अध्यक्ष सिंहले जानकारी दिए ।

उनका अनुसार धान काट्नकालागि तत्काल प्रत्येक दुई वडामा एक मेसिन राखिने तथा उक्त मेसिनलाई घुम्तीको रुपमा काममा खटाईएको छ । आफुहरु जनताको सेवक भएकोले जनताको पीरमर्का बुझ्नु स्वाभाविक भएको बताउँदै उनले भने ‘हामी जनताका सेवक हौं, जनताको समस्यामा साथ दिनु हाम्रो कर्तव्य हो, त्यसैले जनतालाई सघाउनकालागि गाउँपालिकाको तर्फबाट निःशुल्क रुपमा धानबाली काट्न प्रबन्ध मिलाएका हौं ।’

कसरी धानबाली काट्ने भनी चिन्तामा किसानहरु रहेकै अवस्थामा अचानक धान काट्ने मेसिन खेतमा पुगेर धमाधम धान काट्न थालेको देखेर किसानहरु तीनछक्क परे । निःशुल्क धान काट्न गाउँपालिका किसानको खेतमा पुगेको देखेर आफुहरु अत्यन्तै खुशी भएको कृषि ज्ञान केन्द्रका प्राविधिक समेत रहेका कृषक कुशेश्वर यादवले बताए । आफुहरुले सोच्दै नसोचेको कार्य हुन थालेको बताउँदै उनले भने ‘गाउँपालिका आफैमा सरकार हो, सरकार नै किसानको खेतखेतमा पुग्नु भन्दा ठूलो खुशीको कुरा के हुनसक्छ र ? खेतको आकार सानो रहेकोले ट्रयाक्टरबाट धान काट्न अलि बढी समय लाग्ने गरेकोले आगामी दिनमा यसतर्फ किसानहरु स्वयम्ले आगामी दिनमा ध्यान दिनुपर्ने उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस