फूलमा आत्मनिर्भरता

दशैंपछिको दोस्रो ठूलो पर्व तिहार आउनै लागेको छ । फूलको बढी खपत हुने यस पर्वमा यसपाली विदेशबाट त्यसको आयात नगरिने भएको छ । विशेष गरी राजधानी काठमाण्डौंमा तिहारका बेला भारतबाट सयपत्री फूल आयात गरिँदै आएको थियो । यस वर्ष स्वदेशमै उत्पादित सयपत्री फूलबाटै तिहार मनाउन पुग्ने भएका कारण आयात नगरिने भएको हो ।

तिहारमा फूल आयातकालागि लाखौं रुपियाँ बाहिरिने गरेको अवस्थामा अहिले स्वदेशमा पनि फूलको खेति विस्तार भएका कारणले यस प्रकारको आत्मनिर्भरता आउनु खुशीको कुरा हो । मुलुकको समृध्दिकालागि आयात प्रतिस्थापन अति आवश्यक विषय हो ।

विगतका वर्षमा तिहारकालागि मात्र १२ लाखभन्दा बढी रुपियाँको फूल आयात भएकोमा यस वर्ष स्वदेशमै उत्पादित फूल नै पर्याप्त हुने अनुमान गरिएको छ । समृध्द नेपाल सुखी नेपाली भन्ने सरकारले लक्ष्य त लिएको छ । तर,यसको प्राप्तीकालागि पहिले आत्मनिर्भरता बढाउने अनि परनिर्भरता घटाउने मामिलामा प्राथमिकताका साथ काम भएन भने यस्तो लक्ष्य केवल कागजमा मात्र सिमित रहनेमा आशंका छैन ।

स्वदेशी उत्पादनमा बृध्दि ल्याउन तथा स्वदेशकै उत्पादनको प्रयोग बढाउनमा जोड दिनु पर्ने अहिलेको आवश्यकता हो । कृषिप्रधान मुलुक भनिए पनि नेपालमा अहिले कृषि क्षेत्रकै परनिर्भरता बढ्दो छ । फूलमा आत्मर्निरताको कुरा त एक उदाहरण मात्र बन्न सक्ला, यहाँ त खाद्यान्न, तेल, दूध, माछामासुदेखि हरियो सागसब्जी समेत बाहिरबाट ल्याउने परिपाटी बढ्न थालेको छ ।

कृषिप्रधान मुलुकमै कृषिमाथिको परनिर्भरता बढेर जाँदो छ भने कृषिको उत्थान के कति भईरहेको छ भन्ने अनुमान लगाउन गाह्रो नपर्ला । फूलमा त १२ लाख बाहिरिएको थियो तर वर्षेनी करोडौंको खाद्यान्न मात्र आयात गरिरहनु परेको अवस्था अहिले पनि विद्यमान नै छ ।

मुलुकमा साँच्चिकै समृध्दि ल्याउने हो भने पहिला देशको उर्बर भूमि बाँझो रहने अवस्थाको अन्त्य हुन जरुरी छ । यसका साथै सिँचाई,समयमा रसायनिक मल तथा बिऊको व्यवस्था र रोग लागेमा तत्काल उपचार लगायतका सबालमा सरकारले किसानलाई सहयोग गर्ने हो भने नेपाल फेरि पनि कृषिमा आत्मनिर्भर हुन नसक्ने होईन ।

किसानलाई दिने भनिएको सहयोग तथा राहत वास्तविक किसानसमक्ष पुग्न सकेको छ कि छैन भन्ने कुरामा पनि विचार पुर्याउन जरुरी छ । किसानकालागि आएको राहत प्रभाव र पहुँचका बलमा अर्कैले उछिट्टयाउने परिपाटीमाथि नियन्त्रण जरुरी छ ।

सही ढंगबाट कृषि कर्म गरियो भने हाम्रो आफ्नै भूमिमा सुन फलाउन नसकिने होईन । अहिले कोरोनाका कारणले बाहिर रहेको जनशक्ति पनि धमाधम स्वदेश फर्किने क्रम बढेको छ । यो जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्था मिलाउनु सरकारको दायित्व पनि हो ।

सुक्दै गएको कृषि क्षेत्रमा युवा वर्गको आकर्षण जगाउने खालका नीति तथा कार्यक्रम ल्याएर कार्यान्वयन गर्न सकियो भने हाम्रो देशको उर्बर माटो पुनः हराभरा बन्न सक्दछ । फूलकै कुरा गर्दा सप्तरीकै कञ्चनपुरमा पनि गत वर्ष नै फूलको खेती व्यावसायिक रुपमा थालनी भएको हो ।

उत्पादन भए पनि बजारीकरण नभएका कारणले खेतमै फूल सुकेर जाने अवस्था नआएको होईन । कृषि क्षेत्रमा पनि किसानले गरेको उत्पादनको उचित मूल्य पाउन नसके उनीहरुको उत्साह मरेर जाने निश्चित छ । अहिले धानको समर्थन मूल्य तोकेको भनिन्छ । तर सप्तरीका किसानहरुले उक्त मूल्यमा उत्पादन बिक्री गर्न सकिरहेका छैनन् । बिचौलियाको पञ्जाबाट किसानलाई सुरक्षा दिने विषयमा सरकारले ठोस कार्यक्रम नल्याउँदा सम्म कृषिमा उत्थानको परिकल्पना गर्न सकिन्न ।

Author:



क्याटोगरी छान्‍नुहोस