काठमाण्डाै, १५ जेठ । सरकारले हुलाकी राजमार्ग र काठमाडौँ तराई मधेश द्रुतमार्ग निर्माणका लागि बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्र्दै उनले हुलाकी राजमार्गका लागि रु. ३ अर्ब ५६ करोड र काठमाडौँ तराई मधेश द्रुतमार्ग निर्माण गर्न २४ अर्ब ४९ करोड रकम विनियोजन गरेका हुन् । हुलाकी राजमार्ग निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी तराईको आर्थिक विकास तथा अन्तर आबद्धतालाई सुदृढ गरिने बजेटमा प्रतिवद्धता व्यक्त गरिएको छ ।
यसैगरी तराई मधेश द्रुतमार्ग ८४ सालभित्र सम्पन्न गर्ने घोषणा गर्दै बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री पौडेलले काठमाडौँ तराई मधेश द्रुतमार्गको निर्माण कार्य आर्थिक वर्ष २०८३÷८४ भित्र सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।