बनैनिया सीमा सुरक्षा पोष्ट क्षेत्रबाट व्यापक मदिरा तस्करी

रामशंकर भण्डारी
राजविराज, १४ जेठ । सप्तरीको राजगढ गाउँपालिका–२ अन्तर्गत बनैनिया सीमा सुरक्षा पोष्ट (बीओपी) क्षेत्रको झुटकी कमलपुरबाट दैनिक रूपमा मदिरा तस्करी भइरहेको खुलासा भएको छ ।

भारतसँग सिमाना जोडिएको यस क्षेत्रबाट विहानैदेखि रातिसम्म बैलगाडा, भारतीय मोटरसाइकल र स्कारपियोको प्रयोग गरी ठूलो मात्रामा मदिरा भारततर्फ पठाइँदै आएको हो । स्थानीयका अनुसार झुटकी कमलपुरस्थित दशगज्जा नजिकै देखिने मदिरा पसल केवल मुखौटो हो । वास्तविक उद्देश्य भने भारतमा मदिरा तस्करी गर्नु नै हो । भारतीय बिहार राज्यमा मदिरा निषेधित रहेका कारण नेपालबाट तस्करी बढेको छ ।
तस्करको डरले स्थानीयबासीहरू खुलेर बोल्न चाहदैन । स्थलगत अनुगमनमा पनि धेरैजसोले क्यामरामा कुरा गर्न अस्वीकार गरेका छन् । यद्यपी नाम नबताउने शर्तमा प्रत्यक्षदर्शीका अनुसार बिओपी बनैनियाबाट करिब ५–६ सय मिटर पश्चिममा रहेका फुसको गोठहरूमा मदिरा लुकाएर राखिन्छ । त्यसपछि उपयुक्त समयमा स्कारपियो, ट्याक्टर र मोटरसाइकलमार्फत भारततर्फ तस्करी गरिन्छ ।
दिनहुँ २५–३० बैलगाडामा एकसय कार्टुनसम्म मदिरा लोड गरी सीमावर्ती नदी पार गरेर भारतीय बिहारको सुब्बाटोलसम्म पु¥याइन्छ । तर सशस्त्र प्रहरी बलका सप्तरी प्रमुख एसपी ज्ञानमणि पौडेलले भने मदिरा तस्करीबारे आफु अनभिज्ञ रहेको बताएका छन् ।
जिल्लाका अन्य सहरबाट मदिरा ट्रक वा पीकअपमा झौहरा चौकसम्म ल्याइन्छ । त्यसपछि केही पसलमा स्टोर गरी, त्यहीँबाट बैलगाडा र भारतीय नम्बर नभएका मोटरसाइकलमार्फत सीमातर्फ पु¥याइने गरेको बताइएको छ ।
गत पुषमा राजविराज भन्सार कार्यालयले झौहरा चौकमा बैलगाडामा लोड गरिँदै गरेको ७२ कार्टुन मदिरा बरामद गरेको थियो । उक्त मदिराबारे कसैले दाबी नगरेपछि भन्सारले कब्जा लिएको थियो । यसरी खुलेआम हुने तस्करीले नेपाल सरकारलाई लाखौंको राजस्व नोक्सानी भइरहेको छ नै । त्यसमाथि बीओपीकै नजिकबाट ठूलो परिमाणमा मदिरा तस्करी हुँदा सुरक्षा संयन्त्रको प्रभावकारिता र निष्कपटतामाथि गम्भीर प्रश्न उठाएको स्थानीयको गुनासो छ ।
Author:



क्याटोगरी छान्‍नुहोस