सिटी रिक्सा चालकद्वारा राजबिराजमा चक्का जाम, ठेकेदारमाथि कारवाहीको माग

राजबिराज, १४ जेठ। राजबिराज नगरपालिका–७ स्थित रूपनी सडक मोड (कंचनपुर सडक, हनुमान मन्दिर अगाडि) मा सडक निर्माणको माग गर्दै सिटी रिक्सा चालकहरूले सोमबार चक्का जाम गरेका छन्।

लगातार खराब सडकका कारण दैनिक सवारी सञ्चालनमा समस्या भइरहेको भन्दै उनीहरूले सडक निर्माणको मागसहित प्रदर्शन गरेका हुन्। प्रदर्शनकारी सिटी रिक्सा चालकहरूका अनुसार उक्त सडक खण्डमा धूलो–माटो, खाल्डाखुल्डी र निर्माणको नाममा वर्षौंदेखि अलपत्र अवस्थाले उनीहरूको दैनिकी कष्टकर बनाएको छ। उनीहरूले स्थानीय ठेकेदार कम्पनीले काम नगरेको भन्दै तत्काल कारबाहीको माग समेत गरेका छन्।

“हामी हरेक दिन यही बाटो भएर सिटी रिक्सा चलाउँदैछाै‌, माटो र खाल्डाले यात्रु झन् सवारी चढ्न चाहँदैनन् , ठेकेदारको लापरवाहीले हामी पीडित छौं,” सिटी रिक्सा चालक दिनेश यादवले भने।

यता कावा नगरप्रमुख ईसरत परविनले पनि ठेकेदार कम्पनीको बेवास्ताप्रति असन्तुष्टि जनाएकी छिन्। “मैले सडक निर्माण कार्य छिटो सम्पन्न गर्न बारम्बार निर्देशन दिएकी हुँ। तर ठेकेदार अटेर गर्दै आएको छ,” नगरप्रमुख परविनले भनिन्।

उनले निर्माण कम्पनीले सम्झौता अनुसारको काम नगरेको जनाउँदै आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिइन्। नगरवासीहरू पनि लामो समयदेखि सडकको अस्तव्यस्त अवस्थाबाट हैरान छन्।

स्थानीयहरूका अनुसार यदि चाँडै सडक निर्माण सुरु नभए थप कडा आन्दोलनमा उत्रिने चेतावनी सिटी रिक्सा चालकहरूले दिएका छन्। Pic. Credit: Chandan Yadav/Rajbiraj

Author:



क्याटोगरी छान्‍नुहोस