प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई गम्भीरतापूर्वक लिएर कार्य गरिरहेको छ : मन्त्री साह

राजविराज, ३ मंसिर । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्वास्थ्य क्षेत्रलाई गम्भीरतापूर्वक लिएर प्रदेश सरकारले कार्य गरिरहेको बताएका छन् । बुधवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा अस्पतालको भवन शिलान्यास कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘सरकारले स्वास्थ्य क्षेत्रमा सुरुदेखि नै गम्भीरता अपनाएर कार्य गर्दैछ’ उनले भने–‘सोही तहत प्रदेशको विभिन्न स्थानमा नयाँ अस्पतालहरु निर्माण भएको छ र हुँदैछ पनि ।’

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री साहले कतिपय स्थानमा सञ्चालनमा रहेको अस्पतालहरुको भवन जिर्ण रहेका कारण उपचार सेवा प्रवाह गर्न भइरहेको समस्यालाई ध्यानमा राखेर पनि नयाँ भवनहरु निर्माण कार्य थालिएको बताए ।

‘सोहीअनुसार यहाँ पनि अस्पतालको लागि नयाँ भवन निर्माण हुन्छ र यस भवनबाट धेरैभन्दा धेरै सर्वसाधारणले उपचार सेवा पाउने आशा लिएको छु’ उनले भने–‘यसमा सवैको सहयोग चाहिन्छ ।’

हनुमाननगर कंकालीनी नगरपालिका उपप्रमुख सरितादेवी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कञ्चनरुप नगरपालिका प्रमुख बसन्तकुमार मिश्र, तिरहुत गाउँपालिका अध्यक्ष हेमन्तकुमार बडहरखेर, पूर्व साँसद नागेन्द्र झा, स्थानीय नेता उमेशकुमार मिश्रा, निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष ऐनेश्वरप्रसाद दास, भारदह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कुन्दन ठाकुर लगायतले अस्पतालको भवन निर्माणकालागि प्रदेश सरकारले देखाएको तदारुकताप्रति धन्यवाद दिँदै समयमै भवन निर्माण कार्य सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् ।

५० शैय्याको भवन शिलान्यास

भारदह अस्पतालको साढे ३ बिघा जग्गामध्ये ४९ सय स्क्वाइर मिटरमा ५० शैय्याको आकस्मिक कक्ष निर्माण हुन लागेको छ । सो भवनको मन्त्री साहले अस्पतालको ५० शैय्या भवनको शिलान्यास गरेका छन् ।

भ्याटसहित १ करोड १४ लाखमा निर्माण हुन लागेको सो भवन निर्माण गर्ने ठेक्का धनदा कन्स्ट्रक्सन पार्ताहाले पाएको छ । सम्झौता मितिले ७ महिनाभित्र निर्माण कार्य सम्पन्न भइसक्ने निर्माण कम्पनीका प्रोपाइटर जितेन्द्रकुमार खडकाले बताए ।

सो अस्पताल सञ्चालनमा आएपछि भारदह, हनुमाननगर, पोर्ताहा, मधवापुर, सकरदही, बलुवा, कोशी ब्यारेज, भण्टाबारी, हरिपुर लगायतका सर्वसाधारणले स्वास्थ्य सेवा पाउनेछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस