राजविराज, १७ मंसिर । फेसबुक एकाउण्ट ह्याक गरी रकम ठगी गर्ने सप्तरीका एक व्यक्तिसहित दुई जनालाई पक्राउ गरिएको छ । २ नम्वर प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सप्तरीको सितापुरका ३१ वर्षीय रामदेव साह र सुनसरीको इटहरी–४ का २३ वर्षीया मनिषा गिरी छन् ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ की एक महिलाले जिल्ला प्रहरी कार्यालयमा दिएको सूचनाअनुसार उनीहरुलाई पक्राउ गरिएको हो । दुवै जनाले फेसबुक एकाउण्ट ह्याक गरेर नेटमार्फत सामाजिक सञ्चालमा अश्लिल तस्बिरहरु राखिदिन्छु भन्दै ब्ल्याकमेल गरी ३० हजार रुपैयाँ लिएको महिलाको आरोप छ ।
सोही क्रममा गत मंगलवार इटहरी बजारस्थित माग गरिएको रकम आइएमईमा झिकिरहेको अवस्थामा दुवैलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुवै जनामाथि आपराधिक लाभ मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिनको म्याद गराई अनुसन्धान भइरहेको जनाएको छ ।