सप्तरीमा खेलमैदान: कामै नगरी भुक्तानी लिने यी चार जनामाथि विशेष अदालतमा मुद्दा दायर

राजविराज, २३ मंसिर । सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित खाँडो खोलामा खेलकुद फिल्ड मर्मतसम्भारको कामै नगरी फर्जी विल बनाएर भुक्तानी लिएको भन्दै कर्मचारीसहित चार जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका इन्जिनियर विकास कुमार श्रेष्ठसहित ४ जनामाथि आइतवार दायर गराएको मुद्दामा २ लाख ७५ हजार ६२३ रुपैयाँ ३६ पैसा बिगो रकम असुल गर्न तथा सजाय माग गरिएको छ ।

फिल्ड मर्मतसम्भारका लागि खेलकुद मन्त्रालयबाट आएको बजेटमा कुनै काम नगरी उपभोक्ता समिति र प्राविधिक कर्मचारीले फर्जी बिल भरपाई पेश गरेर आर्थिक अनियमितता गरेको कार्यालयमा उजुरी आएपछि अनुसन्धान भएको अख्यिारका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालय, सप्तरीका ईन्जिनियर, जिल्ला खेलकुद विकास समिति, सप्तरीका तत्कालीन उपाध्यक्ष, तत्कालीन प्रशासकीय अधिकृत र फुटबल खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्षसमेतको मिलोमतोमा २ लाख ७५ हजार ६२३ रुपैयाँ ३६ पैसा बराबरको रकम बढी भुक्तानी लेनदेन गरेर नेपाल सरकारलाई हानी र आफूलाई लाभ हुने कार्य गरेको पाइएको छ ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका इन्जिनियर विकास कुमार श्रेष्ठले कामै नभएको फुटबल मैदानको नापी गरी सोहीअनुसारको प्राविधिक बिल बनाई भुक्तानीका लागि सिफारिस गरेको अख्तियारले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिम श्रेष्ठले कसुर गरेको सप्रमाण पुष्टि भइसकेकोले २ लाख ७५ हजार ६२३ रुपैयाँ ३६ पैसा विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ८ को उपदफा (१) बमोजिम सजाय र हानिनोक्सानी गरेको उक्त बिगो रकम असुल हुन माग दाबी गरिएको छ ।

यसैगरी जिल्ला खेलकुद विकास समिति, सप्तरीका तत्कालीन उपाध्यक्ष धिरेन्द्र वर्मा र प्रशासकीय अधिकृत महेन्द्र प्रसाद यादवले कामै नभएको योजनामा सम्पन्न भएको गलत प्रतिवेदन पेश गरेको अख्तियारले जनाएको छ । यसैगरी, फुटबल खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष बुद्धिलाल यादवले योजनामा माटो पुर्ने काम सम्पन्न गरेको झुठ्ठा बिल भरपाई पेश गरेको ठहर गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको सप्रमाण पुष्टि हुन आएको हुँदा उपाध्यक्ष वर्मा, अधिकृत यादव र अध्यक्ष यादवलाई सजाय हुन र विगो असुल माग दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780