असन्तुष्टि हटाएर सर्वस्वीकार्य संविधान बनाउनुपर्छः राजेन्द्र महतो

राजविराज, २३ मंसिर । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले जनताको कठोर संघर्षबाट राजनीतिक परिवर्तन भए पनि शासकीय सोचमा परिवर्तन आउन नसकेको आरोप लगाएका छन् ।

सप्तरीको रुपनी गाउँपालिकामा मंगलवार रुपनी गाउँपालिका वडा नम्वर ४ स्थित छपकीमा सहीद खुशीलाल यादव र नागेश्वर यादवको सालिक अनावरण गर्दै उनले यस्तो बताएका हुन् । वर्तमान सरकार एकपक्षीय रुपमा पुरानै चिन्तनबाट अगाडि बढिरहेको सरकारलाई ठूलो संकटको सामना गर्नुपर्ने टिप्पणी गर्दै नेता महतोले भने ‘जनताको कठोर संघर्षबाट राजनीतिक परिवर्तन भए पनि शासकीय सोचमा परिवर्तन आउन सकेको छैन जसका कारण ठूलै संकटको सामना गर्नुपर्ने अवस्था निम्तिन सक्छ ।’

वर्तमान संविधान पनि सबै नेपाली जनताको भावनालाई समेट्न नसकेका कारणले देशमा अुसन्तुष्टि बढ्दै गएको उनले बताए । संविधान संशोधनद्वारा आदिवासी, जनजाती, मधेशी मुस्लिम, सिमान्कृत समुदाय सबैको असन्तुष्टि हटाएर सर्वस्वीकार्य संविधान बनाउनुपर्नेमा वरिष्ठ नेता महतोले जोड दिए ।
जनताले बलिदानी दिएर ल्याएको उपलब्धी समेत गुम्ने खतरामा पुगेकोले जनता सचेत हुनुपर्ने उनले बताए ।

रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, सांसद रानी मण्डल, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, प्रदेश सभा सदस्य मनिष कुमार सुमन, केन्द्रीय नेता केशव झा, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव, जसपाका केन्द्रिय सदस्य विशेश्वर रजक, युवा नेता दिनेश यादव राजविराज नगरपालिकाका उपप्रमुख साधना झा लगायतले मन्तव्य व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस