मुख्यमन्त्री राउतद्वारा क्षिरेश्वर नपामा सर्पदंश उपचार केन्द्रको उद्घाटन

 

जनकपुरधाम, २६ मंसिर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सर्पदंश उपचार केन्द्रको उद्घाटन गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ( युएनडिपी ) ले एक करोड २० लाखको लागतमा २२ शैय्याको सर्प दंश उपचार केन्द्रको भवन निर्माण गरेको हो । उपचार केन्द्रको उद्घाटन गर्दै प्रदेश नम्वर २ का राउतले गर्मी क्षेत्र भएका कारण प्रदेशमै नै एन्टिभेनम खोपको उत्पादनकालागि प्रदेश सरकार अगाडि बढेको बताए । उपकरण तथा सञ्चालनको व्यवस्थापन क्षिरेश्वर नगरपालिकाले गरेको छ । क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पंजियारले सर्प दंश उपचार केन्द्र सञ्चालनकालागि तत्काल १५ लाख तथा वार्षिक रुपमा १० लाख रकम नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनका अनुसार सर्पदंशको उपचार निःशुल्क गरिनेछ ।

युएनडिपीको १ करोड २० लाख लगानीमा भवनको निर्माण भएको छ । उपकरण, शय्यासहितका अन्य व्यवस्थापनमा नगरपालिकाको १ करोड गरेर २ करोड २० लाखको लागतमा सर्प दंश उपचार केन्द्रको निर्माण सम्पन्न भएको हो । उनका अनुसार नेपाली सेनाको श्रीनाथ गणका चिकित्सकसहितको प्राविधिक टोलीले उपचार गर्नेछन् ।

सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष लक्ष्मण महतोको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस